नाकामा बिना रोकटोक आवतजावत, कोरोना संक्रमणको जोखिम


 



काठमाडौँ, चैत ६
सरकारले भारतसँगका महत्त्वपूर्ण चार नाका काँकडभिट्टा, वीरगन्ज, भैरहवा र गड्डाचौकीबाहेक अन्यलाई बन्द गरेको घोषणा गरे पनि ती नाकामा बेरोकतोक आवतजावत जारी रहँदा कोरोना संक्रमण फैलिने उच्च जोखिम छ ।

बन्द गर्ने भनिएका केही नाकामा स्थानीय तहले हेल्थ डेस्क राखे पनि मास्कसमेत यथेष्ट नहुँदा त्यहाँ खटिएका स्वास्थ्यकर्मी नै असुरक्षित छन् ।

कपिलवस्तुको कृष्णनगर नाकाबाट ओहोरदोहोर गर्नेको जाँच गर्न खटिएका विद्यानगर स्वास्थ्यचौकीका अहेब अनवर अहमद खाँ र भगवानपुर स्वास्थ्यचौकीका अहेब नवीनप्रसाद डाँगीलाई सरकारले कुनै सुरक्षा उपकरण नदिएपछि आफैंले सामान्य मास्क किनेर लगाएका छन् ।

नाकामा कृष्णनगर नगरपालिकाले एउटा टेन्ट टाँगेको छ, जसको मुनि बसेर उनीहरू डिजिटल थर्मोमिटरले ज्वरो नाप्छन्, यात्रुको नाम लेखेर पठाउँछन् । केही गडबडी देखिए दिन सामान्य औषधि पनि उनीहरूसँग छैन ।

मंगलबार मध्याह्नसम्म उनीहरू काखीमा थर्मोमिटर च्याप्न लगाएर ज्वरो नाप्थे । पन्जाबबाट आएका ६ नेपाली विद्यार्थीले उक्त थर्मोमिटरले ज्वरो नाप्दा संक्रमण सर्ने भन्दै नाप्न नमानेर नाराबाजी नै गरेपछि नगरपालिकाले एक चिकित्सकसित मागेर इन्फ्रारेड थर्मोमिटर उपलब्ध गराएको छ । ‘भगवान् भरोसा काम गरिरहेका छौं,’ अहेब डाँगीले भने, ‘भाग्यले अहिलेसम्म केही भएको छैन ।’

उनीहरू जस्तै अर्को नाका सुठौलीमा दुई महिला स्वास्थ्यकर्मी खटिएका छन् । उनीहरू पनि १० देखि ४ बजेसम्म ज्वरो नाप्दै बस्छन् । नजिक आउनेलाई नाप्छन् । नभए छाड्छन् । अघिपछि सीमा खुला हुन्छ । जो आएरगए पनि मतलब हुँदैन ।

संक्रमणबाबट बच्न व्यक्तिगत सुरक्षा सामग्री चाहिन्छ, जसभित्र गाउन, हेल्मेट, इमर्जेन्सी आइवास, चस्मा, मास्क, पन्जा र बुटलगायत सामान पर्छन् । एकपटक प्रयोग गरेपछि पुनः प्रयोग गर्न नमिल्ने यी सामग्री नाकामा कुनै पनि हेल्थ डेस्कमा छैनन् ।

‘प्रदेश सरकारको आपूर्ति महाशाखासँग सुरक्षाका सामग्री माग गर्दा थाकिसक्यौं,’ जिल्ला स्वास्थ्य कार्यालय प्रमुख योगेन्द्र भगतले भने, ‘एक महिना हुन लाग्दा पनि आएको छैन ।’

बाँकेको जमुनाहा नाकाको अवस्था पनि उस्तै छ । सीमापारि भारतीय सशस्त्र सीमा सुरक्षा बल ९एसएसबी० ले हेल्थ डेस्कमा २० जना स्वास्थ्यकर्मी खटाएको छ भने नेपाललेआफ्नातिर खटाएका ६ जनाले काम चलाउनुपरेको छ ।

पश्चिम नवलपरासीका विभिन्न नाकाबाट पनि मानिस बेरोकतोक आवतजावत गरिरहेका छन् । पाल्हीन्दनमा गाउँपालिका–१ स्थित महेशपुर भन्सारबाट भारत ठुटीबारीमा लाग्ने साप्ताहिक हाटबजारमा किनमेलका लागि जाने नेपालीको चाप घटेको छैन ।

भारतीय नागरिक पनि यहाँ आइरहेका छन् । नवलपरासीका महेशपुर, भुजहवा, झुलनी नाका पनि खुला छन् । दाङमा रहेको कोइलावास नाकामा आवतजावत उस्तै छ ।

यता, खुला रहेको रूपन्देहीको भैरहवा–सुनौली नाकामा नेपाल–भारत आउजाउ गर्ने यात्रुको चाप बढेको छ । नाकाबाट करिब दुई किमि पश्चिम डन्डा नदी आसपासको सीमावर्ती क्षेत्रमा नेपाली उपभोक्तलाई लक्षित गरी लाग्ने हाटबजारमा दुवै देशका हजारौं उपभोक्ता र व्यापारीको जमघट अहिले पनि टुटेको छैन ।

संक्रमणको जोखिम कम गर्न केही दिनअघि मात्रै दुवै देशका सीमावर्ती सुरक्षा अधिकारीको बैठक बसे पनि त्यसको नतिजा भने नाकामा देखिएको छैन । बैतडीका ४ वटा सीमा नाका झुलाघाट, रोल, डिम्बर र नागार्जुन घाटमा पनि आवतजावत साबिकझैं चलिरहेको छ ।

मोरङका छोटी नाका रंगेली, सुनबर्सी नगरपालिकास्थित डायनिया, रतुवामाई नगरपालिकास्थित चुनीबारी, दोरिया र चौकीघाट, धनपालथान गाउँपालिकास्थित कदमाहा र जहदा गाउँपालिकास्थित मधुमल्ला र तरिगामा आवतजावत चलिरहेको छ ।

यी नाकामध्ये तरिगामा बाहेकका नाकामा स्थानीय प्रशासनको हेल्थ डेस्क राख्ने हालसम्म योजना नभएकाले सीमावर्ती गाउँका सर्वसाधारण त्रसित छन् ।

विराटनगरको सीमावर्ती जोगबनी नाकामा दुवैतर्फ हेल्थ डेस्क राखेर आउजाउ गर्नेको जाँच गर्ने गरिएको छ । जोगबनी बजारमा दिनहुँ ठूलो संख्यामा नेपाली उपभोक्ता किनमेलका लागि जाने गर्छन् ।

यहाँ दैनिक सरदर १५ सय जनाको ज्वरो मापन हुँदै आएको छ तर सातायता शंकास्पद संक्रमित नभेटिएको स्वास्थ्यकर्मीहरूले बताए ।

आवातजावतका लागि खुला रहेको पूर्वी सीमा नाका काँकडभिट्टामा मेचीनगर नगरपालिकाले सतर्कता बढाएको छ । प्रदेश २ का सीमा क्षेत्रमा पनि सबै नाका निर्बाध चलिरहेका छन् ।

त्यहाँ राखिएका हेल्थ डेस्कको पनि उस्तै बेहाल छ, जहाँ स्वास्थ्यकर्मी तालिमबिनै खटिएका छन् । मलंगवाको नाकाबाट नेपाल–भारत सीमा हुँदै दैनिक हजारौं जना ओहोरदोहोर गर्छन् ।

यता, खुला गर्ने भनिएको वीरगन्ज–रक्सौल नाकामा पनि राम्रो परीक्षणको व्यवस्था छैन । हेल्थ डेस्कका स्वास्थ्यकर्मी वीरगन्ज–रक्सौल नाकामा यात्रुको बढी आवतजावत हुने गरेकाले प्रत्येकको चेकजाँच गर्न सम्भव नरहेको बताउँछन् ।

आवश्यक उपकरणको व्यवस्था नहुँदा रौतहटको भारतीय सीमा क्षेत्रमा राखिएको हेल्प डेस्कमा स्वास्थ्यकर्मीले खटिन अस्वीकार गरेपछि अनमी र अहेबबाट काम चलाउनुपरेको छ ।

जहाँ हालै उत्तर प्रदेशबाट आएका दुई यात्रुलाई जाँच गर्दा उच्च ज्वरो भेटिएको थियो तर उपचारका लागि लैजान एम्बुलेन्स नभएकाले स्वास्थ्यकर्मीले त्यत्तिकै छाडेका थिए । सिरहास्थित भारतीय सीमावर्ती मुख्य नाका माडर, ठाडी र बरियारपट्टीमा पनि आवतजावतको अवस्था साबिकै छ ।

यसैगरी भगवानपुर गाउँपालिकाअन्तर्गत आभेनगर, मरिक टोल, नवराजपुर गाउँपालिकाअन्तर्गत झाँझपट्टी, कुसुन्डी बोर्डर, बरियारपट्टी गाउँपालिकाअन्तर्गत नरगी, कचनारी, छोटकी टोल र गरगम्मा नाकाबाट पनि मानिस आउजाउ गरिरहेका छन् ।

सिरहा नगरपालिकाका लगडी गोठ, लगडी गदियानी र औरही गाउँपालिकाका औरही, दरहिया र इटाटार नाकाबाट पनि सर्वसाधारणको आउजाउ भइरहेको छ । कान्तिपुर दैनिक

प्रकाशित मिति: ६ चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्