डिआईजी बढुवामा आईजीपीको बखेडा


 


काठमाडौं । नेपाल प्रहरीको समायोजनसँगै सरुवा र बढुवामा गृह मन्त्रालयले बनाएको योजनालाई नै असफल बनाउन षड्यन्त्र शुरु भएको छ ।

गृह मन्त्रालयले प्रहरीको संघ र प्रदेशमा समायोजन गर्दा प्राविधिक र जनपथतर्फ कति–कति घटाउने भन्ने विषयमा स्पष्ट खाका बनाएर कार्यान्वयन गर्न खोज्दा आईजीपी ठाकुरप्रसाद ज्ञवालीले विभिन्न बखेडा झिकिरहेको गृह स्रोतले बताएको छ । गृह मन्त्रालयले प्रहरीका सबै पदको दरबन्दी मिलाएर समायोजन प्रक्रिया अगाडि बढाउन खोज्दा आईजीपी ज्ञवालीले त्यसलाई रोक्न खोजेको गृहका एक उच्च अधिकारीले बताए ।

आफूलाई निकै सक्षम र प्रहरीको पक्षमा भएको देखाउन हालैमात्र उनले एसएसपीबाट डिआईजी बढुवामा अवरोध खडा गरेका हुन् । समायोजनपछि प्रहरीका ५०–५५ हजार जनशक्ति प्रदेशमातहत जान्छन् भने बाँकी २५–२६ हजार मात्रै संघमा रहन्छन् ।

प्रदेशमा समायोजन गरेर बाँकी रहेका जनशक्तिलाई चुस्त बनाउनुपर्छ भन्ने गृह मन्त्रालयको योजना र रणनीतिलाई आईजीपी ज्ञवालीले कहिले प्रधानमन्त्री भेटेर निर्णय लिन्छु त कहिले प्रहरीको मनोबल उच्च बनाउन अहिले डिआईजीको दरबन्दी घटाउने निर्णय नगरौं भन्दै गृहको बैठकबाट पन्छिने गरेको ती अधिकारीले बताए ।

जबकी प्रधानमन्त्री कार्यालयले सम्पूर्ण अधिकार दिएर गृह मन्त्रालयलाई दरबन्दी घटाएर समायोजनको प्रकृया अगाडि बढाउन प्रष्ट निर्देशन दिइसकेको छ ।
समायोजन हुँदा प्रहरी प्रधान कार्यालयमा रहेका डिआइजीको मात्र नभई तलका अनावश्यक दरबन्दी समेत कटौती हुने भएपछि आईजीपी ज्ञवाली हेडक्वाटरकै बद्नाम समूहबाट परिचालित भएर काम गरिरहेको गृह स्रोतको बुझाई छ ।

सरकारको स्पष्ट योजना र कार्यदिशा अनुसार नै गृह मन्त्रालयले समायोजनको प्रकृया अगाडि बढाएको र अनावश्यक दरबन्दी घटाएर प्रहरीलाई चुस्त दुरुस्त बनाउने निर्णयमा मन्त्रालय पछाडि नहट्ने गृह सचिव महेश्वर न्यौपानेले बताएका छन् ।

हाल डिआइजीमा २२ दरबन्दी रिक्त रहेको छ । गृह मन्त्रालयले ७ प्रदेशमा ७ जना डीआईजीको दरबन्दी तोकिसकेको छ । हाल प्राविधिक समेत गरी डिआईजीको संख्या ३४ जना छ ।

केन्द्रमा २५ हजार मात्रै प्रहरी रहने हुँदा बाँकी २७ जना डिआईजी अनावश्यक भार मात्र हुने गृह मन्त्रालयको बुझाई छ । सोही अनुसार डिआईजीको संख्या १० को हाराहारीमा घटाएर मात्रै गृह मन्त्रालय एसएसपीहरुको बढुवा गर्न चाहन्छ । तर, त्यसलाई रोकेर एक वर्ष अघि मात्रै एसपीबाट एसएसपी बनेका केही जुनियर एसएसपीहरु अहिले नै बढुवा हुन खोजिरहेको हुँदा त्यसैमा समस्या देखिएको स्रोत बताउँछ ।

आईजीपी ज्ञवाली निकट ती एसएसपीहरु डिआईजीको दरबन्दी घटाउनु हुँदैन भन्दै कहिले पूर्व गृहसचिव प्रेमकुमार राईकोमा धाउने गरेका छन् भने कहिले प्रधामन्त्रीका सल्लाहकारहरुलाई भेटर रोई कराई गरिरहेका छन् । तर, उनीहरुको गलत अभ्यासलाई गृह मन्त्रालयले रोकेरै छाड्ने देखिन्छ । पूर्व गृहसचिव राई पनि गृहको योजनालाई कार्यान्वयन गर्नुपर्ने पक्षमा छन् ।

गृह सचिवमा महेश्वर न्यौपाने आएसँगै उनले प्रहरीमा व्यक्ति केन्द्रित सोच पलाएको भन्दै सरुवा र बढुवाका लागि चलखेल नगर्न केही एसएसपीलाई बोलाएरै चेतावनी दिइसकेका छन् ।

रिक्त रहेको डीआइजीका लागि एसएसपीहरु धनश्याम अर्याल, पुरुषोत्तम कँडेल, गणेशबहादुर ऐर, वसन्त पन्त, प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की, राजेशलाल कर्ण, दिलीप चौधरी, देवबहादुर बोहोरा, रामकृपाल शाह, धिरजप्रताप सिंह, उत्तमराज सुवेदी, रविन्द्र धानुक, बसन्तकुमार लामा, दिवेश लोहनी दाबेदारका रुपमा देखिएका छन् ।

त्यसैगरी एसएसपीहरु सहकुलबहादुर थापा, प्रदिपकुमार श्रेष्ठ, अरुणकुमार विसी, हरिराज वाग्ले, प्रकाश अधिकारी, सुशीलकुमार यादव, किशोरकुमार दाहाल, मुकुन्दराज आचार्य, पूजा सिंह, विक्रमबहादुर सिंह, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी, नरबहादुर खत्री, मसाउद आलम खाँ, शेखर कोइराला पनि बढुवाका लागि प्रतिस्पर्धामा छन् ।

दरबन्दी घटाउन नहुने भन्दै यहि समूहमा बढुवा हुनका लागि आईजीपीका निकटका केही जुनियर एसएसपी  विभिन्न नेताहरुकहाँ धाउन थालेको प्रहरी स्रोत बताउँछ ।

उनीहरुले आफ्नो स्वार्थका लागि दरबन्दी घटाउँदा प्रहरीको करिअरमा असर पर्ने भन्दै गलत लविङ गरिरहेको गृहको स्रोतको बुझाई छ । आईजीपी ज्ञवालीले एसएसपीबाट डिआईजी बढुवामा अबरोध गरेपछि एसपी र एसएसपीसम्मको बढुवा प्रक्रिया समेत अलपत्र परेको छ। (यूनाइटेड पोस्ट साप्ताहिक )

प्रकाशित मिति: ६ चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्