प्रतिपक्षको भूमिका निर्वाह गर्न कांग्रेस चुकेको छ : गगन थापा


 


काठमाण्डौँ,चैत्र ६
नेपाली कांग्रेसका युवा नेता गगन थापाले संविधानको परिपालना गर्ने कुरामा सरकार चुकिरहेको बताएका छन् ।

सरकारलाई ठीक ठाउँमा ल्याउने काम प्रतिपक्षको भएपनि आफ्नो पार्टी नेपाली कांग्रेस यसमा चुकेको नेता थापाको भनाई छ ।

उनले भने–‘पार्टीभित्र हाम्रो भूमिका राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेसले आफ्नो प्रतिपक्षीय जिम्मेवारी सही ढंगले निर्वाह गर्न सकोस् भन्ने रहन्छ । समूहका हिसाबले पनि हाम्रो अर्को एउटा थप जिम्मेवारी छ । अहिले नेपाली कांग्रेसलाई ठीक ठाउँमा राख्ने कुरामात्रै होइन, भविश्यको नेपाली कांग्रेस राम्रो हुन्छ भन्ने कुराको सन्दर्भमा आश्वस्त पार्ने जिम्मेवारी पनि हाम्रो हो ।’

नेपाली कांग्रेसले अब आउने निर्वाचन जितेपछि के गर्न सक्छ भन्ने कुराको विश्वासको संकेतहरू दिने, आशाको संकेत दिने काम पनि पार्टीको रहेको थापाको भनाई छ ।

वरिष्ठ नेता कृष्णप्रसाद सिटौला समूहले सोमबार काठमाडौंमा आयोजना गरेको भेलामा बोल्दै युवा नेता थापाले भने–‘यो दिशामा काम गर्ने कुरामा कोही पनि साथी अलमलिनु आवश्यक छैन । पार्टी नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा हामीहरू जसरी पार्टीभित्र काम गर्दै आएका छौं, पार्टीभित्र हामी सही कुरामा सही र गलत कुरामा गलत भन्दै आएका छौं । हामी त्यही कुरामा आजको दिनमा अरु केही पनि कुरा छैन ।’

अधिवेशन समयमा गराउने, विधानको पाालना गराउने कुरामा एक गाउँमा उभिएर अगाडि बढ्नुपर्ने पनि थापाले औंल्याए ।

उनले भने–‘हामी एकै ठाउँमा उभिएर जान्छौं र एकै ठाउँमा उभिदै गर्दा हामी हिजो पनि यथास्थितिवादीको पक्षमा थिएनौं, परिवर्तनको पक्षमा उभिएका थियौं, भोलि पनि हाम्रो यो ताकत परिवर्तनको पक्षमा उभिन्छ, उभिन्छौं ।’

प्रकाशित मिति: ६ चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्