चर्को आवाजका कारण १ सय ८५ मोटरसाइकलमाथि कारवाही


 


काठमाडौं, चैत्र ५
चर्को आवाजका निकाल्ने १ सय ८५ मोटरसाइकलमाथि महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारवाही गरेकाे छ। महाशाखाद्वारा खटिएकाे प्रहरी टाेलीले चर्को आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउने चालकलाई कारबाही गर्ने कार्यलाई तिब्रता दिएपछि ती मोटरसाइकल कारवाहीमा परेका हुन्र

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालका अनुसार ध्वनि प्रदुषण हुने गरी शहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले मोटरसाइकल गुडाउने, स्वरुप परिवर्तन गरी चलाउने र लापरवाही ढंगले चलाउने ती मोटरसाइकल चालकमाथि कारवाही गरिएकाे हाे।

उनले भने,’फागुन महिनामा मात्रै ध्वनि प्रदुषण गर्ने १ सय ८५ मोटरसाइकल कारवाहीमा परेका छन्।’ एसएसपी ढकालले त्यस्ता मोटरसाइकलका कारण दुर्घटना निम्तनुका साथै अनावश्यक आवाजका कारण सर्वसाधारणलाई आतंकित तुल्याउने भएकाले रोक लगाउन लागिएको जानकारी दिए।

जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकलहरुलाई उपत्यकाभित्र मात्र नभई देशैभर सञ्चालनमा ट्राफिक प्रहरीले कडाइ गरेको ढकालले बताए। मोटरसाइकलबाट निस्कने ध्वनिका कारण कतिपय अपाङ्ग, अशक्त तथा बिरामीहरु तर्सिने गरेका छन्।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले समातिएका मोटरसाइकललाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम जरिवाना स्वरुप १ हजारदेखि १ हजार पाँच ५ हजार रुपैयाँसम्म जरिवाना गराइएको जानकारी दिए। समातिएका मोटरसाइकलमध्ये कम्पनीबाटै ठूलो आवाज आउने मोटरसाइकललाई चलाउन रोक लगाइएको छ। त्यसैगरी मोडिफाई गरेर ठूलो आवाज आउने बनाइएका मोटरसाइकललाई भने पुरानै स्वरुपमा परिवर्तन गर्न लगाएर मात्र छाड्ने महाशाखाका प्रवक्ता श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति: ५ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्