अघिल्लै दिन गोकुलको घरमा हान्ने आदेश!


 


काठमाडौं, चैत ५
सत्तारुढ नेकपा नेतामाथिको कारवाहीमा विद्रोही नेकपाबाट खटाइएका अनुशासित कार्यकर्ताको ‘आलटाल र लापरवाही ।’ फागुन २८ गते बिहानै लोकन्थली, नरेफाँटस्थित निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँसकोटाको घरमा प्रेसर कुकर बम विष्फोटनका क्रममा यस्तो भएको हो ।
विप्लव नेतृत्वको नेकपाले भ्रष्टाचारी र घुसखोरीमाथि तीव्र कारवाही छेड्ने नीति लिएबमोजिम गोकुल निशानामा परेका हुन् ।

सेक्युरिटी प्रेस खरिदसम्बन्धी संवादको अडियो सार्वजनिक हुनु डेढ महिनाअघि नै आक्रमणको सूचना पाएर सरकारद्वारा थप प्रहरी (अगुवा गाडी सहित) सुविधा पाएका गोकुलले विप्लवहरूको बुझाईझैँ केही बिराइहालेका थिएनन् । तर, त्यही नाममा ‘भ्रष्टाचारी’ को बात खेप्नु परेकोचाहिँ सत्य हो । विप्लवका कार्यकर्तालाई फागुनको २७ गते बिहानै गोकुलको निजी घरमा बिष्फोटन गर्ने निर्देशन थियो । तर, त्यसदिन साँझसम्म पनि कुनै घटनाको खबर नपाउँदा ‘हाइकमाण्ड’ छट्पटाउन थाल्यो ।

रिमोट कन्ट्रोल बिधिबाट बिष्फोटनको लागि तोकिएका उच्चस्तरीय तालिमप्राप्त कार्यकर्ताले सुरक्षाकर्मीको निगरानी बढेका कारण त्यसदिन बिष्फोटन गराउन नसकेको बताएका थिए । तर, पार्टीको सैन्य नेतृत्वले ‘जसरी पनि गर्नु’ भन्ने निर्देशन दिएपछि भोलिपल्ट, अर्थात् २८ गते बिहानै काम फत्ये गराइएको नेकपास्रोतले जनाएको छ । नजिकैको सुकुम्बासी टोलमा बस्ने डिसिएम देव गुरुङलाई नेतृत्वले पटक–पटक त्यतातिर नजान भनेको थियो । उनी पनि जान्नँ–जान्नँ भन्दै बास बस्नचाहिँ घरै पुग्ने गरेका थिए । फलतः बिष्फोटनमा संलग्नताको आरोपसहित पक्राउ परेका छन् ।

अहिले उनलाई मुलुकी अपराध संहिताको दफा १३८ बमोजिम बिष्फोटक पदार्थ उत्पादनसम्बन्धी कसुरमा कारवाही गरिँदैछ । त्यही एरियामा नेपाल प्रहरीका एसपी जनार्दन जिसीसहित केही सैनिक अधिकृतको घर भएका कारण त्यहाँ बस्नु सुरक्षाका दृष्टिले पनि उपयुक्त नहुने भन्दै पार्टी नेतृत्वले देवलाई त्यता नजान भनेको थियो । नेपाल प्रहरीको विशेष ब्युरोले आफ्ना निवर्तमान आईजीपी सर्वेन्द्र खनाल र गोकुल बाँस्कोटामाथि सांघातिक आक्रमण हुनसक्ने सूचना पाएको छ तर जनआस्थाको सम्पर्कमा आएका विप्लवनिकट नेताले भने ज्यानमै असर पु¥याउने तहसम्मको पार्टी नीति नरहेको बताए ।

यसबीच सशस्त्र द्वन्द्वकालको चर्चित गोरखा जेल ब्रेक काण्डकी कमाण्डर शीलु अर्थात् पोलिटब्यूरो सदस्य उमा भुजेलका पति बसन्त श्रेष्ठ (प्रज्वलन) भैरहवा कारागारबाट रिहा भएका छन् । सोही पार्टीका केन्द्रीय सदस्य प्रज्वलन उच्च अदालत तुलसीपुर दाङको बुटवल इजलासको आदेशले फागुन २९ गते रिहा भएका हुन् । २० गते बिष्फोटनसम्बन्धी मुद्दामा प्रज्वलनलाई जिल्ला अदालत रूपन्देहीले सफाइ दिएको थियो । तर, प्रहरीले अदालतबाहिर निस्कनासाथ पुनः समातेर कारागार चलान गरेको थियो । त्यसपछि उच्च अदालतमा मीना महतद्वारा प्रत्यक्षीकरणको रिट दायर भयो ।

न्यायाधीशहरू केशवराज जोशी र हरिप्रसाद पौडेलको इजलासले रिट जारी गरेपछि प्रज्वलन रिहा भएका हुन् । उमा धरानमा पक्राउ परी हाल झापाको चन्द्रगढी कारागारमा छिन् । प्रज्वलनचाहिँ नख्खु बम विष्फोटको आरोपमा गत वर्ष चैत ९ गते गोकुलकै जिल्ला काभ्रेबाट मध्य केन्द्रीय कमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओली (सुदर्शन) हरूसहित पक्राउ परेका थिए । जनआस्था साप्ताहिकबाट

प्रकाशित मिति: ५ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्