गुट सक्रिय राख्न सिटौलाको कसरत


 


काठमाडौँ, चैत्र ४
कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका कृष्णप्रसाद सिटौलाले सोमबार आफ्नो समूहको भेला गरेका छन् । पार्टीको केन्द्रीय विभाग गठनपछि अप्ठ्यारोमा परेका सिटौलाले आफ्नो पनि समूह रहेको सन्देश दिनकै लागि भेला डाकेका हुन् । आफ्नो समूहमाथि प्रश्न उठ्दा यसअघि पनि उनले यस्ता भेला बोलाउने गरेका थिए ।

भेलामा उनीपक्षीय केन्द्रीय सदस्यहरू गगन थापा, प्रदीप पौडेल, शिव हुमागाईं, सांसद भीमसेनदास प्रधानसहित भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी तथा सदस्यको उपस्थिति थियो । केन्द्रीय सदस्य उमाकान्त चौधरी भने सहभागी भएनन् । पार्टीको काममा गृहजिल्ला जानुपरेका कारण भेलामा उपस्थित हुन नसकेको उनले बताए ।

सभापति देउवाले केही दिनअघि सिटौला पक्षलाई समेत समेटेर पार्टीका २० विभागका प्रमुख, २ केन्द्रीय र ११ जनालाई आमन्त्रित सदस्यमा मनोनयन गरेका थिए । त्यसै घटनालाई जोडेर सिटौलाले आसन्न महाधिवेशनमा पनि देउवालाई साथ दिने आशंका पार्टीभित्रबाटै गरिन थालिएको थियो । त्यही आशंका निवारण गर्न सिटौलाले आफ्नो समूहको भेला बोलाएको उनीनिकट एक नेताको दाबी छ ।

देउवाले विभागमा सिटौला पक्षका हुमागाईं र आमन्त्रित सदस्यमा सुधीर शिवाकोटीलाई मनोनयन गरेका थिए । भेलामा थापा र पौडेलले सभापति देउवाको विभाग, केन्द्रीय सदस्य र आमन्त्रित सदस्य मनोनयनको विरोध गरे पनि सिटौला भने मौन बसे तर पार्टी नेतृत्वको कार्यशैली र गतिविधिको विषयमा भने उनले आलोचना गरे ।

भेलामा उनले आसन्न महाधिवेशनसम्म नै आफ्नो समूह एक ढिक्कासाथ अघि बढाउने दाबी पनि गरे । उनले नाम नलिई युवा नेता थापालाई तेस्रो समूहबाट आगामी महाधिवेशनमा पार्टी नेतृत्वका लागि आँट गर्न अपिल गरे । ‘युवाहरूले आफैं नेतृत्व लिनका लागि आँट गर्नुपर्छ तर युवाहरूले पनि क्षमता दबाएर राखेको देखेको छु,’ थापाप्रति संकेत गर्दै सिटौलाले भने, ‘परिवर्तनलाई संस्थागत गर्न यो समूहलाई एक ढिक्का बनाएर अघि बढ्छौं । आवश्यक परे युवाहरूले नेतृत्वकै लागि आँट गर्नुपर्छ ।’ कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: ४ चैत्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्