भारतद्वारा विद्यालय भवन निर्माण गर्न आर्थिक सहयाेग


 


काठमाडाैँ, चैत्र ३
भारतले नेपालको तीन जिल्लामा कराेडाैँकाे लागतमा विद्यालय भवन निर्माण गर्न लागेकाे छ। भारतले दार्चुला, धनुषा र कपिलवस्तु जिल्लामा नयाँ विद्यालय भवन निर्माणका लागि १० कराेड ७० लाख १० हजार नेपाली रुपैयाँ छुट्याएकाे छ।

काठमाडौंस्थित भारतीय राजदूतावास र नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दार्चुला जिल्लाको धापस्थित श्री मालिकार्जुन उच्च माध्यमिक विद्यालय र धनुषा जिल्लाको तुलसियाहीस्थित वैद्यनाथ देवनारायण जनता उच्च माध्यमिक विद्यालयको निर्माणका लागि महाकाली नगरपालिका, दाचुर्ला र मुखियापट्टी मुसहरनिया गाउँपालिका, धनुषासँग छुट्टाछुट्टै सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

भारत–नेपाल विकास साझेदारी कार्यक्रम अन्तर्गत यी दुई विद्यालयहरुको निर्माण कूल नेपाली रुपैयाँ ७३.९६ मिलियनको लागतमा हुनेछ । श्री मालिकार्जुन उच्च माध्यमिक विद्यालय नेपाली रुपैयाँ २९.६४ मिलियनको लागतमा निर्माण हुनेछ भने वैद्यनाथ देवनारायण जनता उच्च माध्यमिक विद्यालयको निर्माणका नेपाली रुपैयाँ ४४.३२ मिलियन छुट्याइएको छ ।

यी विद्यालयहरुको निर्माणका लागि आर्थिक सहयोगको जिम्मा भारत सरकारले लिएको छ भने बोलपत्र आव्हान, कार्य हस्तान्तरण, दैनिक निरीक्षण लगायतका निर्माण कार्य नेपाल सरकारले कार्यान्वयन निकायका रुपमा तोकेका महाकाली नगरपालिका, दाचुर्ला एवम् मुखियापट्टी मुसहरनिया गाउँपालिका, धनुषाले गर्नेछन् । यस परियोजनालाई सङ्घीय तहमा नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारतीय राजदूतावासले अनुगमन गर्नेछन्।

माथि उल्लिखित दुई विद्यालय बाहेक कपिलवस्तु जिल्लाको महाराजगङ्ज नगरपालिकास्थित शिवभारी विद्यालयको भवनको निर्माणका लागि भारत सरकारले नेपाली रुपैयाँ ३३.०५ मिलियन आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । कूल रकमको पहिलो किस्ता स्वरुप भारतीय राजदूतावासले महाराजगङ्ज महानगरपालिकाका मेयरको उपस्थितिमा नेपाली रुपैयाँ ८.२६ मिलियनको चेक जिल्ला समन्वय समिति कपिलवस्तुलाई हस्तान्तरण गरेको छ ।

जिल्ला समन्वय समितिले सम्पूर्ण टेन्डर प्रक्रिया सम्पन्न गरी विद्यालय भवन निमार्ण कार्यको जिम्मा एम एस दया निर्माण सेवा रुपन्देहीलाई हस्तान्तरण गरेको छ । शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारको प्रयासलाई पुरा गर्ने सहयोगीको रुपमा रहेको यस परियोजनासँग जोडिन पाएकोमा भारत सरकार खुशी व्यक्त गरेकाे छ ।

प्रकाशित मिति: ३ चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्