कोरोनाविरुद्धको खोपको परीक्षण आज, विश्वको नजर अमेरिकातिर


 


काठमाडौं, चैत ३ एजेन्सी

अहिले विश्वव्यापी आतंक बनेको कोरोनाविरुद्धको खोपको आज अमेरिकामा परीक्षण हुँदैछ । यदि यो प्रयोग सफल भए त्यसले ठूलो राहत मिल्ने आशा गरिएको छ ।

बायोटेक्नोलोजी कम्पनी मोडेर्ना थेराप्युटिक्स र नेसनल इन्स्टिच्युट अफ हेल्थले संयुक्त रूपमा उत्पादन गरेको खोपको सोमबार परीक्षण क्लिनिकल ट्रायल सुरु गर्न लागिएको अमेरिकी स्वास्थ्य अधिकारीले जानकारी दिएका छन्।

उनीहरूका अनुसार स्वस्फूर्त रूपमा तयार भएका व्यक्तिलाई यो खोप दिइनेछ। यो परीक्षण खोप लिन ४५ जना स्वतःस्फूर्त रूपमा तयार भइसकेका छन्।

समाचार संस्था एपीका अनुसार अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थले कोरोना भाइरसविरुद्ध खोप परीक्षणको व्यवस्था मिलाएको छ।
एमआरएनए–१२७३ नाम दिइएको खोपको परीक्षण सियाटलस्थित वासिङ्गटन हेल्थ रिसर्च इन्स्टिच्युटमा गरिने समाचारमा जनाइएको छ।

अमेरिकी स्वास्थ्य अधिकारीका अनुसार खोपको ‘साइड इफेक्ट’ कस्तो हुन्छ भन्ने थाहा पाउन परीक्षण गर्न लागिएको हो।

यस खोपले भाइरसको संक्रमणबाट जोगाउने वा रोगविरुद्ध लड्ने क्षमता बढाउने अनुसन्धानकर्ताले दाबी गरेका छन्।

प्रकाशित मिति: ३ चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्