कोरोनाको संक्रमणले विश्वभर ज्यान गुमाउनेको संख्या ६ हजार ५ सय नाघ्यो


 


काठमाडौं, चैत्र ३
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण विश्वभरका १ सय ५७ मुलुकमा फैलिएको छ । १ लाख ६९ हजार भन्दा बढी मानिसमा यसको संक्रमण देखिदा ज्यान गुमाउनेको संख्या ६हजार ५ सय १५ पुगेको अन्तर्राष्ट्रिय संस्थाबाट एएफपीले सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

कोरोना भाइरसका कारण सबैभन्दा बढी चीनमा ३ हजार २ सय १३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । त्यस्तै यूरोपको सबैभन्दा बढी प्रभावित मुलुक इटलीमा १ हजार ८ सय ९ व्यक्तिको मृत्यु भएको छ ।

युरोपेली मुलुकलाई केन्द्रविन्दु बनाएर फैलिरहेको कोरोनाको संक्रमणले इटाली, स्पेन, फ्रान्स लगायतका मुलुकको जनजीवन तहसनहस बनाएको छ । इटालीमा पछिल्लो २४ घण्टामा ३ सय ६८ जनाले ज्यान गुमाएका छन् भने ३ हजार ५ सय ९० नयाँ संक्रमित थपिएका छन् । हालसम्म इटालीमा संक्रमितको संख्या जम्मा २४ हजार ७ सय ४७ पुगेको इटलीका अधिकारीहरूले जनाएका छन् ।

स्पेनमा कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा थप ९६ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या २ सय ९२ पुगेको छ । स्पेनमा कोरोनाका कारण संक्रमित हुनेको संख्या ७ हजार ८ सय ४५ पुगेको छ । जसमा १ हजार ४ सय ५४ जना नयाँ संक्रमित रहेको जनाइएको छ । स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेजकी पत्नी वेगोना गोमेजलाई पनि सङ्क्रमण पुष्टि भएको छ भने प्रधानमन्त्री र उनकी पत्नी गोमोज सरकारी निवासमा आइसोलेसनमा राखेर उपचार थालिएको जनाइएको छ ।

संक्रमण व्याप्त भएपछि इटालीमा आज सोमबारदेखि देशव्यापी ‘लकडाउन’ लागु गरिएको छ । इटालीले ‘लकडाउन’ गरिरहँदा स्पेन र फ्रान्सले पनि प्रतिबन्ध लगाइसकेका छन् तर पनि त्यहाँ संक्रमण फैलन छाडेको छैन ।

स्पेनमा थप ९६ जना संक्रमितको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या २ सय ९२ पुगेको छ । ७ हजार ८ सय ४५ जनामा संक्रमण भएको छ।यस्तै फ्रान्समा १२७ जनाको मृत्यु भएको छ भने ५४ सय २३ जना संक्रमित भएका छन् । फ्रान्सका अधिकांश क्याफे, रेस्टुरेन्ट, चलचित्र घर तथा पसलहरु बन्द भइसकेका छन् ।

सङ्क्रमणबाट बेलायतमा पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ । १३ सय ११ जना मानिस संक्रमित भएका छन् ।कोरोनाभाइरसका कारण नेदरल्याण्डमा २०, स्विटजरल्याण्डमा १४ जना, जर्मनीमा ११, बेल्जियममा ४, नर्वे तथा स्विडेमा ३/३ जनाको मृत्यु भएको छ ।

एसियाली मुलुक इरान र दक्षिण कोरिया पनि कोरोनाभाइरसको चपेटामा परेका छन् । इरानमा ७ सय २४ जनाको मृत्यु भएको छ त्यहाँ १३ हजार भन्दा बढीमा संक्रमण देखिएको छ ।दक्षिण कोरियामा ७५ जनाको मृत्यु भएको छ । संक्रमित हुनेको संख्या ८ हजार १ सय ६२ छ ।

संक्रमित भएकामध्ये ७७ हजार ४ सय ३६ जना ठीक भएर घर फर्किएका छन् । उपचाररत ८५ हजार ४ सय ९३ जनामध्ये ५ हजार ९ सय २१ को अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।संक्रमण रोक्न सीमा नाका बन्ददेखि मानिसहरुलाई घरबाहिर निस्कन नदिदा पनि ती देशहरुमा कोरोनाभाइरसको संक्रमण फैलने क्रम रोकिएको छैन ।


प्रकाशित मिति: ३ चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्