हुलाकी सडक र नहर पनि भारतमा, सर्वसाधारणले भत्काए सीमास्तम्भ


 


काठमाडौं, चैत्र ३
लालपुर्जा भएको नेपाली भूमि एकाएक भारतमा पारिएपछि त्यसको रक्षा गर्न कञ्चनपुरका बासिन्दा जुटेका छन्। उनीहरूले सीमास्तम्भ संख्या ७८३ का ४ सहायक स्तम्भ भत्काइदिएका छन्।

नेपाली कांग्रेस कञ्चनपुरका सभापति हरि बोहरासहितका नेता अनुगमनमा गएका बेला स्थानीयले सीमास्तम्भै भत्काएका हुन्। उक्त स्तम्भ नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले एक महिनाअघि मात्रै गाडेको थियो।

‘नेपालीहरूको लालपुर्जा र फिल्डबुक कायम भएको ५० बिघाभन्दा बढी जग्गा भारतमा गाभिएपछि आक्रोशित स्थानीयले सीमास्तम्भ भत्काएका हुन्’, सीमा सुरक्षा संघर्ष समितिका संयोजक गोपी उपाध्यायले भने।

कैलालीको खक्रौलाबाट कञ्चनपुरको ब्रह्मदेवसम्म नयाँ सीमास्तम्भ निर्माण र मर्मत सीमा सर्भे टोलीले गरिरहेको छ। टोली यही वर्ष मात्रै कञ्चनपुरको बढी विवादित क्षेत्र बेलौरी आइपुगेको हो। बेलौरीमा दुई महिनादेखि जोर पिलर (सीमास्तम्भ) भारतले र बिजोर पिलर नेपालले बनाइरहेका छन्।

सीमा सर्भे टोलीका नेपाल प्रमुख सुदर्शन धामीका अनुसार स्थानीयले भत्काएको सीमास्तम्भ भारतीय टोलीले बनाएको हो। संघर्ष समितिका संयोजक उपाध्यायका अनुसार बेलौरी नगरपालिका–१० भुडाबाट बैवाहासम्म ४० नेपाली परिवारको लालपुर्जा भएको जग्गा भारतमा परेको छ। ‘वर्षौंदेखि सञ्चालनमा रहेको हरि चन्दको इँटाभट्टासमेत भारततर्फ परेको छ’, उनले भने।

भुडाका बलिराम चौधरीको अढाई बिघा जग्गा संयुक्त टोलीले गरेको रेखांकनमा भारततिर परेको छ। आफूले २०५४ सालमा नापी भई लालपुर्जा पाए पनि त्यसभन्दा अघिदेखि भोगचलन गर्दै आएको चौधरीले सुनाए।

‘नेपाल सरकारले लालपुर्जा दिएको जग्गा कसरी भारतको भयो ? ’ उनले प्रश्न गरे, ‘भारतको जग्गा भए नेपाल सरकारले किन लालपुर्जा दियो ?’

चौधर नालालाई सीमा मानिँदै आए पनि सर्भे टोलीले त्यसभन्दा पनि नेपालतर्फ सीमास्तम्भ गाड्न थालेको छ। ‘मेरो दुई बिघा जमिन गए म अर्को ठाउँमा सरुँला तर यहाँ नेपाल आमाको अंग काटिँदै छ’, चौधरीले भने, ‘सरकारले गोली ठोकोस्, जमिन छाडिँदैन।’ उनले सर्भे टोलीले गलत बिन्दु प्रयोग गरेको आरोप लगाए।

कञ्चनपुरको दक्षिणी क्षेत्रमा सीमा रक्षा गर्न पञ्चायतकालमा भूपू सैनिकलाई बसाइएको थियो। त्यस बेलादेखि भोगचलन गर्दै आएको जग्गा एकाएक भारततर्फ परेपछि स्थानीय आक्रोशित भएका हुन्। सर्भे टोली प्रमुख धामीले बेलडाडीको झिलमिलाबाट सर्भे सुरु गरिएको बताए। ७८२ को सहायक स्तम्भ १ र २ भुडामा निर्माण गर्ने बेला विवाद भएको उनले सुनाए।

‘स्ट्रिप नक्साअनुसार नेपालको दर्ता जमिनमै सीमास्तम्भको लोकेसन देखिएको छ’, उनले भने, ‘दुवै देशबीचको सहमतिअनुसार संयुक्त टोलीले सीमास्तम्भ निर्माण गर्ने हो।’ उनले विवाद भएको स्थानमा निर्माण र मर्मतको काम स्थगन राख्ने भन्ने सहमति भएकाले काम रोकिएको बताए।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले विवाद आएको ठाउँमा दुई देशबीच कूटनीतिक वार्तापछि मात्रै कार्य हुने बताए। विवादरहित क्षेत्रमा मात्रै काम गर्न सर्भे टोलीलाई निर्देशन दिइएको उनले सुनाए।

हुलाकी सडक र नहर पनि भारतमा
बेलौरी नगरपालिका–१० का हरि चन्दको इँटाभट्टाभन्दा दक्षिणतिर ३ सय मिटर हुलाकी सडक भारतमा परेको छ। नेपाली कांग्रेस कञ्चनपुरका सभापति बोहराले सरकारले लगानी गरेको सडकै भारतमा परेपछि सीमा मिच्ने सुनियोजित योजनाको आशंका गरे।

‘कालापानी, लिपुलेक नक्साबाट हराउँछ’, उनले भने, ‘तराईको सिमानामा पनि सरकारी लगानीको हुलाकी सडकसमेत भारतमा गाभिन्छ भने यो नियतवश भइरहेको अतिक्रमण होइन ?’

कञ्चनपुरको दैजीबाट कैलालीको त्रिनगर भन्सारसम्म तीन वर्षदेखि हुलाकी सडक निर्माणाधीन छ। सडक कालोपत्रेको चरणमा छ। ‘हुलाकी सडकै भारतमा पर्नु भनेको कति ठूलो अतिक्रमण हो ? ’, संघर्ष समितिका अध्यक्ष उपाध्यायले भने, ‘सरकारलाई त सीमारेखा थाहा हुनुपर्ने होइन र ?’

सर्भे टोलीले सीमास्तम्भ गाड्न थालेपछि हुलाकी मात्रै होइन, महाकाली सिँचाइ आयोजनाले निर्माण गरिरहेको नहरसमेत भारततर्फ परेको उपाध्यायले बताए। ‘सरकारले बनाइरहेका संरचनासमेत भारतमा परेका छन्, नेपालीको जमिनको के कुरा ? सरकार के हेरेर बसेको छ ? ’, उनले भने, ‘यसरी सीमा मिचेर भइरहेको सीमा सर्भे गर्न दिँदैनौं।’आजको अन्नपूर्ण पोष्टबाट

प्रकाशित मिति: ३ चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्