एसईईको हरेक केन्द्रमा आइसोलेसन कक्ष राखिने


 



काठमाडौं, चैत्र ३
 माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)को हरेक परीक्षा केन्द्रमा आइसोलेसन कक्ष निर्माण हुने भएको छ । ६ चैतदेखि सुरु हुने एसइई परीक्षामा सहभागी विद्यार्थीमा रुघा, सामान्य ज्वरोलगायत समस्या देखिए छुट्टै कक्षामा राखेर परीक्षा दिने व्यवस्था मिलाइने भएको छ । 

शिक्षा र स्वास्थ्यमन्त्रीको केही दिनअघि बसेको बैठकले हरेक परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय पनि गरिसकेको छ । स्वास्थ्य मन्त्रालयबाट खटिने स्वास्थ्यकर्मीले परीक्षार्थीलाई जाँच गर्दा रुघा, ज्वरो देखिएमा आइसोलेसन कक्षमा राखेर परीक्षा दिने व्यवस्था गर्न लागिएको परीक्षा नियन्त्रक रामराज खकुरेलले बताए । यस वर्ष एक हजार नौ सय ९४ परीक्षा केन्द्र कायम भएका छन् ।

स्वास्थ्य मन्त्रालयले नजिकैको स्वास्थ्य केन्द्रबाट परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी खटाउने तयारी गरेको छ । शिक्षा मन्त्रालयले स्वास्थ्यलाई सबै परीक्षा केन्द्रको विवरण आइतबार दिएको छ ।

परीक्षा नियन्त्रक खकुरेलले नेपालमा कतै पनि कोरोना संक्रमण नदेखिएकाले परीक्षालाई निरन्तरता दिइएको बताए । अहिले नै रोक्दा कहिलेसम्म रोक्ने भन्ने अनिश्चितता हुने उनको भनाइ छ । उनले भने, ‘अप्ठ्यारो नपरोस् भन्ने छ, अप्ठ्यारो पर्ने अवस्था नआएसम्म परीक्षा सञ्चालन हुन्छ ।’

एसइईको तयारी पूरा
एसइईमा यस वर्ष चार लाख ८२ हजार २१९ परीक्षार्थी सहभागी हुनेछन् । कक्षा नौमा चार लाख ९७ हजार सात सय विद्यार्थीले एसइईको रजिस्ट्रेसन भरेका थिए । फारम भर्ने नियमिततर्फ चार लाख ६५ हजार आठ सय ३८ छन् ।

ग्रेड वृद्धिका लागि १६ हजार तीन सय ८१ विद्यार्थीले फारम भरेका छन् । सी र सीभन्दा कम ग्रेड ल्याउनेले मात्र आंशिक परीक्षा दिन पाउने व्यवस्था भएपछि आंशिकतर्फ परीक्षार्थीको संख्या कम भएको हो । नयाँ पत्रिका

प्रकाशित मिति: ३ चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्