ओलीद्वारा ‘आपतकालीन कोष’ बनाउने मोदीको प्रस्ताव स्वीकार


 


काठमाडौं, चैत्र २
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ (कोरोना भाइरस) विरुद्ध सार्क ‘इमर्जेन्सी फण्ड’ बनाउन गरेको प्रस्ताव स्वीकार गरेका छन्।

कोरोना भाइरसविरुद्ध सार्क मुलुकका राष्ट्रले सहकार्य गरेर अघि बढ्नु पर्ने बताउँदै प्रधानमन्त्री ओलीले समकक्षी भारतीय प्रधानमन्त्री मोदीले गरेको ‘इमर्जेन्सी फण्ड’ बनाउने प्रस्ताव स्वागतयोग्य रहेको बताउँदै विशेष धन्यवाद ज्ञापन गरे ।

प्रधानमन्त्री ओलीले कोरोनाको संक्रमण रोक्न परम्परागत औषधिलाई प्रोत्साहन गर्नुपर्ने तथा नमस्कारलाई प्राथमिकता दिनपर्ने बताए । उनले सीमाक्षेत्रका अस्पतालहरुलाई सीमा पार बिमारीहरुको उपचार गर्न समेत दिइनुपर्ने धारण राखे । यसलाई प्रोत्साहन समेत गरिनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

‘हाम्रो क्षेत्र कोरोना भाइरस संक्रमको ठूलो जोखिममा छ । यसले कुनै सीमा हेर्दैन ।’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले संयुक्त रुपमा यसविरुद्ध लाग्नुपर्छ । संयुक्त प्रयास आवश्यक छ । अत्यावश्यक बाहेक विदेश भ्रमण गर्नु उचित समय होइन ।’

भिडियो कन्फरेन्समा प्रधानमन्त्री ओलीले अत्यावश्यक औषधी र सरसफाई विशेष ध्यान दिन समेत सबैलाई सुझाए । उनले सार्क इमर्जेन्सी मेडिकल सेन्टर आवश्यक रहेको बताए ।

प्रकाशित मिति: २ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्