काठमाडाैंमा फेरि बरामद भयाे डेढ लाख बढी मास्क, ७ जना पक्राउ


 


काठमाडौं, चैत्र २
काठमाडाैंमा फेरि डेढ लाख बढी मास्क बरामद भएकाे छ। उक्त मास्कसँगै कालाेबजारी गर्ने ७ जनालाइ प्रहरीले पक्राउ समेत गरेकाे छ। कोरोना भाइरसको संक्रमणका कारण विश्वभर सन्त्रास फैलिरहेका बेेला काठमाडौंमा मास्कको कृतिम अभाव सिर्जना गर्नेविरुद्ध प्रहरी पछिल्लाे समय आक्रामक बनेको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले ३ रुपैयाँमा खरिद गरेर ४० रुपैयाँसम्ममा मास्क बिक्री गरेको आशंकामा विशेष अपरेशन चलाएको हो । जसअनुसार शनिबार मात्र ७८ हजार मास्कसहित ८ जना पक्राउ परेका थिए ।

अपरेशनको निरन्तरता दिँदै प्रहरीले आइतबार एक लाख ६८ हजार मास्क बरामद गरेकाे छ। काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले कपन क्षेत्रमा प्रहरीले चलाएको अपरेशनमा उक्त मास्कसहित ७ जना पक्राउ परेकाे पुष्टि गरे। प्रहरीले कपनबाट प्राप्त सूचनाका आधारमा सतुंगलमा रहेको आरडीजी सप्लायर्समा पनि शिलबन्दी गरेको छ । यद्यपि, रात परिसकेकाले कति मास्क छन् भन्ने गणना भएको छैन ।

शनिबार मञ्जुश्री सप्लायर्सका गोदाम मालिक काभ्रेका मिन्टु तामाङ, नागार्जुन २ का अनिश कार्की, उज्जल अधिकारी, काभ्रे रोशी-९ का मानकाजी लामा, बाजुराका थुमराज उपाध्याय, नृप कार्की, काभ्रेका गणेश तामाङ र रामेछापका शिव खड्का पक्राउ परेका थिए । उनीहरुविरुद्ध प्रहरीले कालोबजारी ऐनअनुसार म्याद थप गरेर अनुसन्धान थालेको छ । कोरोनाको संक्रमण फैलिएसँगै विभिन्न कम्पनीले मास्कको स्टक लुकाएको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ ।

प्रकाशित मिति: २ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्