कोरोना भाइरसविरुद्ध आवश्यक रणनीति बनाउन सार्क राष्ट्रबीच आज भिडियो वार्ता


 


काठमाडौं, चैत्र २
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध साझा रणनीति तय गर्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रहरुले आज भिडियो कन्फरेन्समार्फत् छलफल गर्ने भएका छन् ।

कोरोना भाइरसविरुद्ध प्रतिकार गर्न सार्क सदस्य राष्ट्रले भिडियो सम्मेलनमार्फत समाधानको उपाय खोज्न लागेका हुन् । सार्क सचिवालयका अनुसार आइतवार साँझ ५ः१५ बजे सिंहदरबारमा सार्क भिडियो कन्फ्रेन्स गर्न लागिएको हो ।

जहाँ सार्क राष्ट्र प्रमुख भिडियो सम्मेलनमा लाइभ प्रस्तुत भएर आफ्ना अनुभव र समाधानका उपायका बारेमा गम्भीर छलफल गर्नेछन् । भिडियो कन्फ्रेन्समा उठान हुने मुख्य विषय कोरोना भाइरस नै रहेको प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए ।

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओली सहभागी हुन लागेको यो पहिलो औपचारिक कार्यक्रम हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयभित्र रहेको एक्सन रुमबाट प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने बताए ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभीस कुमारले सार्क देशहरुले कोरोनाविरुद्ध लड्न साझा रणनीति बनाउने बताएका छन् ।भिडियो कन्फरेन्समार्फत् सार्क सदस्य देशका सरकार तथा राष्ट्र प्रमुखहरुले कोरोना भाइरसको संक्रमण रोकथामका लागि आफ्नो देशले गर्दै आएको र गर्नुपर्ने कामका विषयमा धारणा राख्नेछन् । त्यसपछि एकीकृत रणनीति बनाउने योजना छ ।

यसअघि मोदीले सामाजिक सन्जाल ट्वीटरमार्फत् सार्क सदस्य राष्ट्रहरुले कोरोनाविरुद्धको लडाइँमा एकीकृत योजना बनाउन प्रस्ताव गरेका थिए । उनको यो प्रस्तावमा नेपालसहित सबै सदस्य राष्ट्रहरुले सहमति जनाएका थिए ।

भारत र पाकिस्तानबीचको द्वन्द्वका कारण लामो समयदेखि सार्क निष्कृय छ । तर, भिडियो कन्फरेन्समा पाकिस्तान पनि सहभागी हुने बताइएको छ । सार्कको सदस्यमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र अफगानिस्तान छन् । हाल सार्कको अध्यक्षता नेपालले गरिरहेको छ ।

प्रकाशित मिति: २ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्