शक्तिको आडमा काठ तस्करी, वडासदस्यकाे ट्याक्टरद्वारा ढुवानी


 


धनगढी, चैत्र २
कैलालीको गौरीगंगा नगरपालिका–३, कुचैनीस्थित राष्ट्रिय वनबाट सालको काठ ल्याउँदै गर्दा गत शुक्रबार ट्याक्टरसहित दुईजनालाई वनका कर्मचारीले पक्राउ गरे। ट्रलीमा ढुंगामुनि लुकाएर ल्याउँदै गरेको ५० गोलिया चिरेको काठ कर्मचारीले बरामद गरेका थिए। काठा बोकेको सो ट्याक्टर वडासदस्य निरज चौधरीको रहेको खुलेको छ।

यस्तै तीन साताअघि गौरीगंगा नगरपालिका–७, स्थित सुनपाल सामुदायिक वनसँग जोडिएको राष्ट्रिय वनमा ३२ वटा सालका रुख काटिएको फेला पर्यो। ती रुख कटानीमा संलग्न भएको आरोपमा सामुदायिक वनका अध्यक्ष, कोषाध्यक्षलगायत १० जनाविरुद्ध अहिले मुद्दा चलिरहेको छ।

यस्तै कञ्चनपुर जिल्लाको शुक्लाफाटा नगरपालिका–१, जनज्योति सामुदायिक वनका अध्यक्ष, सचिव, कोषाध्यक्षलगायत पदाधिकारीलाई काठ तस्करीको आरोप लगाउँदै डिभिजन वन कार्यालयले तीन दिनअघि पक्राउ पुर्जी जारी गर्यो। उक्त वनमा वन कर्मचारीले करिब एक सय क्युफिट काठ काटिएको अवस्थामा बरामद गरेको थियो।

काठ तस्करीका यी प्रतिनिधिमूलक घटना मात्रै हुन्। कैलाली र कञ्चनपुरमा पछिल्ला दिनमा शक्तिको आडमा वन फँडानी गरी काठ तस्करी भइरहेको छ। शक्तिको आडामा सर्वसाधारणलाई प्रयोग गरेर रातिको समयमा रुख काटेर तस्करी गर्ने क्रम बढेको अनुसन्धानबाट खुलेको छ। तस्करीमा वनका केही कर्मचारी, राजनीतिक दलसँग आबद्ध व्यक्ति र जनप्रतिनिधि तथा सामुदायिक वनका पदाधिकारीको संलग्नता रहेको स्रोतको दाबी छ।

कैलालीमा वन फँडानी र काठ तस्करी बढिरहेको जानकारी दिँदै सामुदायिक वन उपभोक्ता महासंघका कैलालीका अध्यक्ष डण्डीराज सुवेदीले भने,‘राजनीतिक दलसँग आबद्ध तथा पहुँचवाला केही व्यक्ति शक्तिको आडमा वन फँडानी र काठ तस्करीमा संलग्न छन्।’ ‘हरियो वन नेपालको धन’ भन्ने उखान अहिले तस्करीको धनमा परिणत भएको बताउँदै उनले भने, ‘यही अवस्था रहे वन सखाप हुन धेरै समय लाग्दैन।’

जिम्मेवारीमा रहेका व्यक्तिहरु नै वन फँडानी र र काठ तस्करीमा संलग्न भएको गौरीगंगा नगरपालिकाका दिलबहादुर बोहरा बताउँछन्। उनले भने, ‘काठ तस्करीमा संलग्न व्यक्तिको साँठगाँठ राजनीतिक शक्ति, सामुदायिक वनका पदाधिकारी र वनका कर्मचारीसँग हुने गरेको छ।’

पूर्व वनअधिकृत रमेश चन्दले पछिल्लो समय शक्तिको आडमा संगठित रुपमा काठ तस्करी भइरहेको बताए। उनले भने, ‘सरकारी निकायबाट अनुगमन फितलो हुनु, शक्तिशाली निकाय र व्यक्तिको संरक्षणका कारण तस्कर कारबाहीबाट बच्दै आएका छन्।’ निर्माणका लागि चाहिने काठ सहज रुपमा नपाइनु र वैकल्पिक स्रोत नहुनुले पनि तस्करी बढेको उनको भनाइ छ।आजको नागरिक दैनिकबाट

प्रकाशित मिति: २ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्