काेराेना भाइरसकाे त्रास: चीनमा करिब ८४ हजार करोड पैसा नष्ट!


 


काठमाडाैं, चैत्र १
पैसाको माध्यमबाट कोभिड–१९ (कोरोना) भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो । पैसाको माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैंकको सहयोगमा कोरोना प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका ती पैसा नष्ट गरेको हो ।

यसअघि गरिएको अध्ययनले पैसाबाट पनि विभिन्न प्रकारका भाइरस सर्ने सम्भावना अधिक भएको पुष्टि गरिसकेको छ । न्यूयोर्क युनिभर्सिटिले गरेको एक अध्ययनअनुसार पैसामा पनि ‘सुक्ष्म जीव’ बाँच्न र हुर्कन उपयुक्त वातावरण भएको प्रमाणित भइसकेको छ । चिकित्सकहरुले पनि कुनै पनि भाइरसका जीवाणु पैसामा करिब दुई सातासम्म जीवित रहनसक्ने बताउँदै आइरहेका छन् ।

पैसामा तीन हजार भन्दाबढी प्रकारका कीटाणु जस्तै भाइरस, व्याक्टेरिया, सामान्य कीटाणु, ढुसी देखा परेका छन् । त्यस अध्ययनमा बैंकबाट निकालिएको पैसामा आठ प्रकारका व्याक्टेरिया देखिएका थिए । अध्ययनअनुसार तरकारी बजार, मासु पसल, पान पराग पसल, पेट्रोल पम्प, जुत्ता सिलाउने पसल र माग्नेसँग भएको नोटमा शतप्रतिशत जीवाणु हुने पुष्टि भएको छ ।

विभिन्न किसिमका प्राणघातक सरुवा रोगको व्याक्टेरियाले पैसामा सङ्क्रमण भएको पुष्टि गरेको छ । संयुक्त राज्य अमेरिकाको पैसामा कोकेन भएको ‘फरेन्सिक साइन्स इन्टरनेशनल’ले प्रमाणित गरिसकेको छ । हेपाटाइटिस सीको स्रोतका रुपमा कोकेनलाई लिइन्छ । यसैगरी दक्षिण अफ्रिकाको पैसामा पनि ९० प्रतिशत विभिन्न किसिमका प्राणघातक व्याक्टेरिया तथा ढुसीबाट दूषित भएको पाइएको छ । मास्टर कार्डका अनुसार शौचालय र जुत्ताको तलुवा भन्दा पैसा बढी फोहोर भएको परीक्षणका क्रमममा पाइएको थियो ।

कोरोना भाइरसले विश्वव्यापी रुपमा प्रभाव जमाउँदै गएसँगै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले समेत कारोना भाइरस पैसाबाट पनि सर्ने भएकाले यसबाट बच्ने उपायको प्रयोग गर्न आग्रह गरिसकेको छ ।

प्रकाशित मिति: १ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्