ठगलाई छुटाउन पुगिन् नेकपा प्रवक्ता नारायणकाजीकी पीए कर्माचार्य


 


काठमाडाैं, चैत्र १
वागमती अपार्टमेन्टमा बस्ने ७६ परिवार पनि लिलामीको चपेटामा छन् । सुधीर बस्नेतले अपार्टमेन्ट धितो राखेर बैंक अफ काठमाण्डूबाट रु.७ करोड ऋण लिएर तिरेनन् । बैंकले लिलामी प्रक्रिया शुरू गरेपछि अपार्टमेन्टका उपभोक्ताले सर्वोच्च अदालतमा मुद्दा हालेका छन् । अदातलमा मुद्दा विचाराधीन छ, तर यहाँका कसैसँग पनि धनीपुर्जा छैन ।

वागमती अपार्टमेन्टमा सुधीर बस्नेत भन्दा पनि ‘खेलाडी’ निस्किए सुधीरकै ठेकेदार रोशन साह तेली । तेलीले त्यहाँका २० अपार्टमेन्ट गैरकानूनी रूपमा बिक्री गरे । त्यसरी बेचेर आएको रकम बंैकमा जम्मा नगरेको तथा निर्माण कार्य पनि अधुरो राखेको भनेर ६० जना शुरू बुकिङकर्ता र रोशनसँग फ्ल्याट किन्ने अरू १६ जनाले २०७६ कात्तिकमा महानगरीय प्रहरी परिसर टेकुमा ठगी मुद्दा हालेका छन् । उपभोक्ता समितिका अध्यक्ष जनक रिजाल भन्छन्, “साहले करीब रु.८ करोड खल्तीमा हालेकोले हामी बस्ने घर नै बैंकको लिलामीमा परेको छ ।”

प्रहरीले साहलाई पक्राउ ग¥यो तर भोलिपल्टै नेकपा नेता नारायणकाजी श्रेष्ठकी पीए सुसन कर्माचार्य महनगरीय प्रहरी परिसर टेकु पुगेर उपभोक्तासँग मेलमिलाप गर्ने भन्दै साहलाई छुटाइन् । वागमती अपार्टमेन्टका उपभोक्ता समितिका अध्यक्ष जनक रिजाल भन्छन्, “साहले आफ्नो गल्ती छोप्न नेता श्रेष्ठकी सहयोगी सुसन कर्माचार्यलाई सित्तैंमा अपार्टमेन्ट दिएका छन् ।”

वागमती अपार्टमेन्टको दोस्रो तलाको १० नम्बर फ्ल्याटमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई भेट्न कार्यकर्तादेखि उच्च तहका नेता समेत पुग्छन् । पुष्पकमल दाहाल, शक्ति बस्नेत आदि नेताहरू आएको आफूले देखेको त्यहाँका एकजना उपभोक्ताले बताए । आठौं तलाको ७ नं फ्ल्याटमा कर्माचार्य आफैं बस्छिन् । आठांै तलाको १ नं फ्ल्याटमा कर्माचार्य अध्यक्ष रहेको इष्टर्न हाइड्रोपावर प्रालिको कार्यालय छ । कर्माचार्यले आफूले दुई वर्ष अघि एउटा अपार्टमेन्ट रु.५४ लाखमा कल्याण कन्स्ट्रक्सनका रोशन साहसँग किनेको बताइन् । “शुरूमा २० लाख रुपैयाँ तिरेकी थिएँ र भर्खरै बाँकी रकम बुझाएकी हुँ” उनले भनिन्, “त्यही अपार्टमेन्टमा हाम्रो दुईवटा जलविद्युत् कम्पनीको अफिस पनि छ ।” सभार खाेज पत्रकारिता केन्द्रबाट

प्रकाशित मिति: १ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्