अत्यधिक रक्सी सेवन गर्दा धनुषामा ५ जनाको मृत्यु, एक सिकिस्त


 


जनकपुर , फागुन ३०
अत्यधिक घरेलु मदिरा सेवन गरेका पाँच जनाको धनुषामा ज्यान गएको छ । जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका–२, रमदैयामा अत्यधिक मदिरा सेवनका कारण ५ जनाको ज्यान गएको हो ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार मृत्यु हुनेमा ३५ वर्षीय ब्रहमदेव यादव, ४० वर्षीय बिलास मण्डल, ६५ वर्षीय गुद्री महरा, ३६ वर्षीय रामनारायण महरा र ३० वर्षीय राजु महरा छन् । रक्सी सेवन गरेका ३ जनाको बिहीबार दिउँसो र २ जनाको राति मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले बताए ।

सुरुमा कालगतिले मृत्यु भएको भनिए पनि शुक्रबार बिहान अनुसन्धान गर्दा अत्यधिक रक्सीले उनीहरूको मृत्यु भएको पाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक नायकले जानकारी दिए ।

‘सुुरुमा कालगतिले उनीहरूको मृत्यु भएको गाउँलेहरूले बताएका थिए,’ प्रहरी निरीक्षक नायकले भने, ‘पुनः दुई जनाको मृत्यु भएपछि हामी घट्नास्थलमा जाँदा अत्यधिक मदिरा सेवनले उनीहरूको ज्यान गएको देखिएको छ ।’

घरेलु मदिराकै सेवनबाट अर्का एकजना गम्भीर बिरामी परेका छन् । सिकिस्त बिरामी २७ वर्षीय इनरजीत महरालाई घोपा क्याम्प धरान पठाइएको प्रहरीले जनाएको छ । मृतककको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएका प्रहरी निरीक्षक नायकले बताए ।

प्रकाशित मिति: ३० फाल्गुन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्