द्वन्द्वकालमा लुकाइएको २ बोरा सकेट बम फेला, आसपासको क्षेत्रमा प्रहरीको कडा सुरक्षा


 


काठमाडौं, फागुन २९
रोल्पामा द्वन्द्वकालमा लुकाइएको २ बोरा सकेट बम फेला परेको छ । थवाङमा बेवारिसे अवस्थामा रहेको सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार थवाङ गाउँपालिका ३ मिरुलको राँपा जंगलमा बोरामा बेरेर राखेको अवस्थामा दुइ बोरा सकेट बम फेला परेको हो । घाँस काट्न जंगल गएका स्थानीयले कुहिएको बोरामा ठूलो मात्रामा सकेट देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि मिरुलको टुटुमा रहेको रानागाउँ चौकीबाट गएको प्रहरीको टोलीले चेक जाँच गर्दा सकेट बम भएको निश्चित गरेको थियो ।

प्रनाउ गुरुङका अनुसार बम राखिएको बोरा निकै पुरानो र च्यातिएको जस्तो देखिएकाले तत्कालीन सशस्त्र द्वन्द्वका बेला विद्रोहीले बम राखेको हुन सक्ने अनुमान गरिएको छ । हाल बम राखिएको क्षेत्रको सुरक्षार्थ रानागाउँस्थित प्रहरी हवल्दार डम्बरबहादुर चलाउनेको नेतृत्वले गरिरहेको छ । उक्त क्षेत्रबाट थबाङ–३ मिरुलको वडा कार्यालय पनि नजिक छ ।

सहायक प्रमुख जिल्ला अधिकारी नवराज शर्माले बम फेला पारिएपछि सुरक्षा समितिको बैठक बसेको बताए । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको अध्यक्षतामा सुरक्षा समितिको बैठक बसेको थियो । समितिका अनुसार बम निस्क्रिय पार्न रोल्पास्थित नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बिहीबार घटनास्थल पठाउने निर्णय भएको छ । सदरमुकाम लिबाङदेखि मिरुल करिब ५० किलोमिटर उत्तरमा पर्छ ।

शान्ति प्रक्रियापछि जिल्लाका विभिन्न स्थानमा बम, बारुद र हतियार भेटिएका छन् । यहीबाट सुरु भई करिब १० वर्ष चलेको माओवादी सशस्त्र द्वन्द्वका क्रममा विद्रोहीले व्यापक मात्रामा विस्फोटक पदार्थ प्रयोग गरेका थिए ।

प्रकाशित मिति: २९ फाल्गुन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्