एउटै ट्यांकरबाट दुई सय ५२ लिटरसम्म तेल चोरी हुने गरेको खुलासा
काठमाडौं, फागुन २९
एउटै ट्यांकरबाट दुई सय ५२ लिटरसम्म तेल चोरी हुने गरेको पाइएको छ ।
इन्डियन आयल कर्पोरेसन (आइओसी)को बरौनी रिफाइनरीबाट आयल निगमको थानकोट डिपोमा डिजेल बोकेर आएका चार ट्यांकरमा मट्टीतेल मिसावट भएको भेटिएको छ । मट्टीतेल मिसाइएका डिजेलका थप २० ट्यांकर बाटोमै रोकेर राखिएको छ ।
थानकोट डिपोमा तेल ओसार्ने करिब दुई सय ट्यांकरको ताल्चा खोल्ने साझा साँचो (मास्टर की) हराएपछि यति धेरै ट्यांकरमा मिसावटको घटना भेटिएको हो । अहिले तेल मिसावट भएका सबै ट्यांकर हराएको एउटै साँचोले खोल्न मिल्छ ।
ट्यांकरचालकले साँचो दुरुपयोग गरी डिजेल लोड भएको ट्यांकरमा मट्टीतेल मिसाएर आर्थिक लाभ लिन खोजेको प्रारम्भिक अनुमान गरिएको छ ।
एक व्यवसायीका अनुसार बरौनी रिफाइनरीबाट २५ फागुनमा डिजेल बोकेर आएका ट्यांकरमा मट्टीतेल मिसावट भएको भेटिएको हो । ‘थानकोट डिपोमा तेल बोकेर आएका ट्यांकरको सुरुमा गुणस्तर परीक्षण हुने गरेको छ ।
डिपोपरिसरमै रहेको प्रयोगशालाका सामग्री प्रयोग गरेर हेर्दा ना.५ख १३१०, ना.४ख २१७९ र ना.७ख ०८३९ नम्बरका ट्यांकरले बोकेर ल्याएको डिजेलमा मट्टीतेल मिसावट भएको भेटियो,’ स्रोतले भन्यो । डिजेल बोकेका तीनवटै ट्यांकर २० किलोलिटर क्षमता हुन् ।
त्यस्तै, २७ फागुनमा ना.७ख २४७० नम्बरको डिजेल बोकेको ट्यांकर परीक्षण गर्दा पनि मट्टीतेल मिसावट भएको भेटिएको हो । २० किलोलिटर क्षमताको यो ट्यांकर ग्रेट हिमालय ढुवानी सेवाको नाममा दर्ता छ । यो कम्पनी पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालको हो । नयाँ पत्रिका
प्रकाशित मिति: २९ फाल्गुन २०७६, बिहिबार