दुई उपसचिवसहित १३ अधिकृत बेपत्ता!


 


काठमाडौं, फागुन २८
कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत रहेका दुई उपसचिवसहित १३ जना अधिकृत वर्षौंदेखि काम छोडेर बेपत्ता हुँदा पनि मन्त्रालयले उनीहरूमाथि कारबाही गर्न सकेको छैन । २४ वर्षदेखि बेपत्ता केही अधिकृतबारे मन्त्रालयको प्रशासनिक नेतृत्व बेखबर जस्तै छ । लामो समयदेखि अधिकृत बेपत्ता हुँदा ती पदहरूमा नयाँ भर्ना प्रक्रियासमेत सुरु भएको छैन । बेपत्ता कर्मचारी अमेरिका, बेलायत, अस्ट्रेलियालगायत देशमा रहेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । उनीहरू अध्ययन, तालिमका लागि भन्दै विदेश गएको र उतै जागिर खाएर बसेको जनाइएको छ । केही अधिकृत भने सेवा निवृत्त हँुदा समेत यसको रेकर्ड मन्त्रालयमा छैन ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार पशु सेवातर्फका भेटनरी अधिकृतहरू बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा उपसचिवस्तरका वरिष्ठ पशु चिकित्सक खड्ग सिंह विष्ट र विश्वचन्द्र घिमिरे छन् । विष्ट २४ वैशाख २०७० देखि र घिमिरे २०५७ देखि नै बेपत्ता छन् ।

यसैगरी मन्त्रालयका अनुसार पशु चिकित्सक सुवास शिवाकोटी २०७० सालदेखि नै बेपत्ता छन् । वेपत्ता हुने अन्य पशु अधिकृतहरूमा विनु श्रेष्ठ, विष्णुबहादुर अधिकारी, कृष्णप्रसाद कँडेल, अञ्जनकुमार चालिसे, तोयानाथ बराल, तुलसीराम थापा, यादव बजगार्इंलगायत छन् । मन्त्रालयका अनुसार केही अधिकृत २०५२ सालदेखि नै बेपत्ता भएका छन् ।

निजामती सेवा ऐनअनुसार बिनासूचना लगातार ९० दिनसम्म कार्यालयमा अनुपस्थित हुने कर्मचारीलाई सेवाबाट हटाउने प्रक्रिया थाल्नुपर्छ । तर, कृषि मन्त्रालयको प्रशासनिक नेतृत्वले त्यस सम्बन्धमा कुनै पहल नै नगर्दा ती कर्मचारीमाथि कारबाही हुन नसकेको हो । तर, मन्त्रालयको प्रशासन महाशाखाले भने लामो समयदेखि बेपत्ता रहँदै आएका ती अधिकृतको खोजतलास गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।

महाशाखाका प्रमुख सहसचिव डा. नारायण रेग्मीले २०/२२ वर्षदेखि सम्पर्कविहीन अधिकृतलाई पदबाट हटाउने प्रक्रिया थालिएको जानकारी दिए । उनले लामो समय अधिकृृतहरू सम्पर्कविहीन हँुदा पद ओगटिएको र नयाँ भर्ना गर्न नसक्दा काम प्रभावित हुन पुगेको बताए । ‘अब लामो समयदेखि बेपत्ता भएका सबैलाई हटाएर रिक्त पद कायम गरिने र रिक्त पदमा नयाँ भर्ना प्रक्रिया थालिने प्रशासन महाशाखा प्रमुख डा. रेग्मीले जानकारी दिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव बाबुराम अधिकारीले वर्षौंअघिदेखि कर्मचारी बेपत्ता हँुदा कारबाही नगर्नु कृषि मन्त्रालयको त्रृटि भएको बताए । उनले मन्त्रालयले छिटोभन्दा छिटो सबै कर्मचारीको नाममा सार्वजनिक सूचना जारी गरी कारबाहीस्वरूप हटाउने प्रक्रिया थाल्नुपर्ने जनाए । राजधानी दैनिकबाट

प्रकाशित मिति: २८ फाल्गुन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्