बेलायतकी स्वास्थ्य मन्त्रीलाई कोरोना भाइरसको संक्रमण!


 


काठमाडौं, फागुन २८
बेलायतकी स्वास्थ्य मन्त्री नादिन डोरिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । आफूलाई कोरोना लागेको थाहा पाएपछि परामर्शपछि पाएको सबै सावधानी अपनाएको र आफूलाई घरभित्र सेल्फ आइसोलेशनमा राखेको उनले जानकारी दिइन् ।

डोरिसले एक वक्तव्य जारी गर्दै बेलायतको सार्वजनिक स्वास्थ्य विभागले उनीसँगको सम्पर्कमा रहेका व्यक्तिहरुको खोजी गरिरहेको र उनको विभाग र संसदीय कार्यालयले विभागको सल्लाह अनुसरण गरिरहेको जानकारी दिएकी छिन् ।

६२ वर्षे डोरिसले नर्सको रुपमा आफ्नो करियर सुरु गरेकी थिइन् । उनीसँगै बस्ने उनकी ८४ वर्षीया आमाले पनि मंगलबारदेखि खोक्न थालेपछि आफूलाई निकै चिन्ता लागेको उनले ट्वीटरमार्फत् जानकारी दिएकी छिन् ।

डोरिसले पछिल्लो समय कतिवटा बैठकमा भाग लिइन्, त्यसको कुनै जानकारी छैन । स्वास्थ्य विभागका अनुसार बिहिबार उनलाई पहिलो लक्षण देखिएको थियो । उनले त्यसैदिन प्रधानमन्त्रीद्वारा आयोजित एक सडक कार्यक्रममा भाग लिएकी थिइन् । त्यसको भोलिपल्ट अर्थात् शुक्रबारदेखि उनी सेल्फ आइसोलेशनमा बसेकी छिन् ।

कन्जरभेटिभ पार्टीकी सांसद समेत रहेकी डोरिस कोरोना भाइरसद्वारा संक्रमित हुने पहिलो सांसद हुन् । संयुक्त राज्यमा कोरोना भाइरसका कारण अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ भने ३ सय ८२ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो पटक ८० वर्षका एक वृद्धको मृत्यु भएको थियो । उनको स्वास्थ्यमा यसअघि पनि विभिन्न समस्या देखिएका थिए ।साथै एनएचएस इङ्गल्याण्डले संक्रमितको संख्या वृद्धि भइरहेको अवस्थामा संक्रमित भए नभएको परीक्षण गर्ने प्रणालीको क्षमता वृद्धि गर्ने तयारीमा भएको जानकारी दियो । अहिले दिनमा १५ सयको परीक्षण हुँदै आएकोमा नयाँ प्रणालीपछि दैनिक १० हजारको परीक्षण गर्न सकिने बताइएको छ ।

प्रकाशित मिति: २८ फाल्गुन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्