कतारको श्रम स्वीकृति बन्द, उडान पनि रोकियो
काठमाडौं, फागुन २८
कोरोना भाइरस प्रभावकै कारण सरकारले कतार जाने कामदारका लागि दिँदै आएको श्रम स्वीकृति बन्द गरेको छ । कतार सरकारले नेपालसहित विभिन्न १४ देशका नागरिकलाई आफ्नो मुलुक प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएपछि वैदेशिक रोजगार विभागले पनि मंगलबारदेखि श्रम स्वीकृति दिने कार्य बन्द गरेको हो ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले कतारको निर्णयअनुरूप विभागबाट प्रदान गरिने श्रम स्वीकृति दिने कार्य स्थगित गरिएको बताए । उनले कोरोना भाइरस प्रभावबाट उत्पन्न जोखिम हटेर अर्को सूचना जारी नभएसम्म कामदारका लागि प्रदान गरिने श्रम स्वीकृति दिने कार्य स्थगित भएको जानकारी दिए ।
उनले मंगलबारदेखि नै संस्थागत एवं व्यक्तिगत दुवै श्रम स्वीकृति दिने काम बन्द भएको बताए । यसअघि करिब दुई महिनासम्म विभागबाट कतार जान ३ हजार ६ सय ५ जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए । सोहीअनुसार करिब ३ हजार नेपाली कामदार अन्तिम श्रम स्वीकृतिपछि पनि कतार जान रोकिएको अनुमान छ ।
विगत ५८ दिनमा विभागले १ लाख १७ हजार ६ सय ३३ जनालाई वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिएको थियो । तीन महिनाअघि गत डिसेम्बरमा चीनबाट विश्वभर फैलिएको नोबेल कोरोना भाइरसको संक्रमण विश्वभर फैलिँदै गएपछि कतारले नेपाल, चीन, भारत, बंगलादेश, इजिप्ट, इरान, इराक, लेबनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको थियो ।
कतारमा कोरोना संक्रमितको संख्या बढेको पुष्टि भएपछि सो कदम चालिएसँगै अहिले त्यसको असर नेपाली कामदारमा परेको छ । कतारमा हाल करिब साढे ४ लाख नेपाली कामदार कार्यरत छन् ।
यस्तो अवस्थामा पनि कतारको राष्ट्रिय ध्वजावहाक विमान सेवा कतार एयरवेजले भने दोहा पुग्ने यात्रुका लागि खरिद भएका हवाई टिकट बुकिङसमेत पछि सार्ने सुविधा दिएको छ । कोरोना भाइरस प्रभावकै कारण कतारले नेपाली कामदार लिन प्रतिबन्ध लगाएपछि अब नेपालले त्यहाँबाट प्राप्त गर्ने रेमिट्यान्स रकमसमेत घट्ने भएको छ ।
अहिले कतार मात्र होइन, अहिले नेपाली कामदार वैदेशिक रोजगारीका लागि जाने अन्य मुलुक साउदी अरब, बहराइन, मलेसिया, दक्षिण कोरिया, जापानलगायत विभिन्न युरोपियन मुलुकमा समेत कोरोना भाइरसको संक्रमण फैलिएको छ ।
यसकारण, ती मुलुकबाट नेपाल भित्रिने रेमिट्यान्स रकम घट्ने सम्बन्धित व्यवसायी एवं सरोकारवालाको भनाइ छ ।
मुलुकको राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमले पनि काठमाडौंबाट कतारको दोहामा भर्दै आएको नियमित उडान स्थगित भएको छ ।
चीनबाट विश्वभरका विभिन्न मुलुकमा फैलँदो क्रममा रहेको कोरोना भाइरसको संक्रमणबाट उत्पन्न जोखिमलाई न्यूनीकरण गर्न नेपालसहित विभिन्न १४ मुलुकका नागरिकलाई कतार प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएसँगै निगमले पनि आफ्नो नियमित उडान बन्द गर्न बाध्य भएको हो ।
कतारले गरेको अस्थायी प्रतिबन्धको निणर्यसँगै निगमले पनि मंगलबारबाट लागू हुने गरी काठमाडौंबाट दोहामा भर्दै आएको नियमित उडान केही समयका लागि स्थगित गरेको छ ।
कतारको यस्तो नियमले अब नेपालीहरू पनि हाललाई कतार प्रवेश गर्न नपाउने भएकाले दोहाको नियमित उडान मंगलबारदेखि अर्को निर्णय नहुन्जेलसम्मका लागि स्थगित गर्नुपरेको निगमले जनाएको छ ।
निगमका अनुसार सोमबार र त्यसभन्दा पछिका उडानका टिकट खरिद गरेका हवाई यात्रुहरूलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने भएको छ । यसैगरी, हवाई टिकटमा उडानको मिति दुई पटकसम्म परिवर्तन गर्न पनि थप शुल्क नलाग्ने व्यवस्था गरिएको निगमले जनाएको छ ।
निगमले हाल काठमाडौंबाट दोहाका लागि दैनिक एउटा उडान भरिरहेको थियो । यअअघि दोहामा अर्को नेपाली कम्पनी हिमालय एयरलाइन्सले समेत आफ्नो नियमित उडान रोकेको थियो । कतार एयरलाइन्सले भने अहिलेसम्म काठमाडांैको उडान बन्द गरेको छैन ।
यसैगरी, संयुक्त अरब इमिरेट्स (यूएई)मा दुई नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि आबुधावीस्थित नेपाली राजदूतवासले उनीहरूको विस्तृत विवरण संकलन गरिरहेको जनाएको छ ।
गत सोमबार यूएईको स्वास्थ्य मन्त्रालयले थप १४ नयाँ कोरोना संक्रमित बिरामी भेटिएको र तीमध्ये दुई जना नेपाली पनि रहेको बताइएको थियो । दुई जना नेपालीमा कोरोना देखिए पनि उनीहरू को हुन् र यूएईमा के गर्थे भन्नेबारे अझै केही खुलेको छैन ।
अहिले आफूहरूले त्यहाँको परराष्ट्र मन्त्रालयमार्फत ती नेपालीको विवरण मागेको दूतावासका सूचना अधिकारी भुवन ओझाले जानकारी दिए । यूएईमा करिब २ लाख ७५ हजार नेपाली कार्यरत छन् । राजधानी दैनिक
प्रकाशित मिति: २७ फाल्गुन २०७६, मंगलबार