उपत्यकाबाट सात महिलासहित ८० जना पक्राउ, २ हजार जना परे कारबाहीमा!


 


काठमाडौं, फागुन २६
काठमाडौं उपत्यकामा फागु अर्थात् होली पर्वमा उच्छृङ्खल गतिविधि गर्ने सात महिलासहित ८० जना पक्राउ गरेको छ ।

काठमाडौंबाट सात महिलासहित ५९ जना पुरुष तथा ललितपुर र भक्तपुरमा सात–सात जना पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जबरजस्ती रङ्ग दल्ने, लोला हान्ने र होहल्ला गरेकालाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत वर्षको तुलनामा यस पटक त्यति धेरै होलीसँग जोडिएका उच्छृङखल गतिविधिमा कमी आएको छ। गृह मन्त्रालयले महारामारीको रुपमा फैलिएको कोरोना भाइरसका प्रभावका कारण औपचारिक रुपमा नमनाउन सबैलाई आग्रह गरेको थियो।

ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार जना कारबाहीमा

ट्राफिक प्रहरीले होली पर्वका अवसरमा उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ९४१ सवारीसाधनलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज होली पर्वको अवसर पारेर जथाभावी सवारी चलाउने चालकलाई कारवाही गरेको हो । कारवाही पर्नेमा एक हजार ६४५ दुईपाङ्ग्रे तथा २९६ चारपाङ्ग्रे सवारीसाधन छन् ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले मादक पदार्थ सेवन गरी सवारी चलाउने, क्षमताभन्दा धेरै राखेर सवारी चलाउने, मोटरसाइकलमा तीनजना राखेर चलाउने तथा  ठूलो आवाज निकालेर तीव्र गतिमा चलाउने चालकलाई कारवाही गरिएको जानकारी दिए । ट्राफिक प्रहरीले होली पर्वका अवसरमा बिहान ७ देखि साँझ ७ बजेसम्म ७६ स्थानमा विशेष जाँचको व्यवस्था गर्नाका साथै १४ वटा मोबाइल भ्यानबाट समेत जाँच गरेको थियो ।

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले होलीको समयमा ठूला दुर्घटना नभए पनि २० वटा दुर्घटना भएको जानकारी दिनुभयो । उक्त दुर्घटनामा १९ जना सामान्य घाइते भएको उनले बताए  । ५६६ ट्राफिक प्रहरीलाई काममा खटाएको थियो । काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट उनीहरुलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: २६ फाल्गुन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्