इटालीमा डेढ करोड मानिस ‘क्वारेन्टाइन’मा


 



इटालीमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि डेढ करोड मानिस अनिवार्य क्वारेन्टाइनमा राखिएको छ। कोरोना भाइरस संक्रमणका कारण युरोपमा सबैभन्दा प्रभावित देश नै इटाली हो ।

शनिबार त्यहाँ कोरोना भाइरस संक्रमितहरुको संख्या निकै धेरै बढेको मानिएको थिए । लोमबार्डी क्षेत्रका मानिसहरुलाई क्वारेन्टाइनमा राखिएको बताइएको छ । यस्तै इटालीका १४ प्रदेशका मानिसलाई आवतजावतमा रोक लगाइएको छ । 

अप्रिल पहिलो सातासम्मका लागि यी ठाउँहरु ‘लक्ड डाउन’ गरिएको हो। अत्यन्त द्रुत रुपमा फैलिइरहेको कोरोना भाइरस संक्रमणलाई रोक्न त्यहाँका जिम, पुल, संग्रहालय, स्काइ रिसोर्ट्सहरु पनि बन्द गरिएका छन् ।

अहिलेसम्म इटालीमा २३० जनाभन्दा धेरैको मृत्यु कोरोना भाइरसका कारण भएको छ । चौबिस घन्टामा त्यहाँ ५० जनाको मृत्यु भइरहेको छ । शनिबार ५८८३ जनामा त्यहाँ कोरोना भाइरस संक्रमण देखियो । शनिबारअघिसम्म त्यहाँ १२ सय जनामा मात्र कोरोना भाइरस देखिएको बताइएको थियो ।

इटालीको उत्तरी क्षेत्र लोमबार्डी जहाँ १ करोड मानिस बस्छन् र इटालीको आर्थिक राजधानी मिलानसहित अन्य १४ प्रदेशहरुलाई लक्ड डाउन गरिएको हो ।

इटालीका प्रधानमन्त्री गुइसेप्पे कोन्टेले यसलाई नै भाइरस संक्रमण रोक्ने प्रभावकारी उपाय भएको बताएका छन् । त्यहाँ अब खुल्ने रेष्टुरेन्ट तथा क्याफेहरुमा पनि ग्राहकहरु एक मिटर पर मात्र बस्न सक्ने व्यवस्था गरिएको छ ।

नयाँ नियमहरु उल्लघंन गर्नेहरुलाई त्यहाँको सरकारले तीन महिनासम्म जेल सजाय दिने बताएको छ । त्यहाँका सबै खेलकुदका कार्यक्रमहरु पनि अहिलेका लागि स्थगित गरिएका छन् ।

अब विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई आफ्नो सबैभन्दा ठूलो प्राथमिकता बताएको छ ।

उता, चीनमा कोरोना भाइरस संक्रमितलाई राखिएको एउटा क्वारेन्टाइन केन्द्र भत्किँदा कम्तिमा चार जनाको मृत्यु भएको छ । त्यहाँबाट ७० जनालाई उद्धार गरिएको चिनियाँ मिडियाले जनाएका छन् ।

विश्व महिला आइस हकी च्याम्पियन्ससिप क्यानडामा हुने भनिएको थियो, तर अहिलेका लागि यो प्रतियोगिता स्थगित गरिएको छ । एशियाली देश दक्षिण कोरियामा पनि कोरोना भाइरस संक्रमितको संख्यामा उल्लेख्य वृद्धि आएको छ ।

प्रकाशित मिति: २६ फाल्गुन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्