अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य २५ प्रतिशतले गिरावट
न्यूयोर्क
खनिज तेलको मूल्यमा भारी गिरावट भएको छ । कोरोना भाइरसका कारण सिर्जित समस्याका कारण अन्तर्राष्ट्रिय मापदण्डको ब्रेन्ट क्रुडको लन्डनको कारोबारमा प्रति ब्यारेल ११।४४ अमेरिकी डलर अर्थात् २५।३ प्रतिशत गिरावट आएको छ ।
लन्डनमा प्रति ब्यारेल ३३।३३ अमेरिकी डलरमा कारोबार भएको छ । गिरावटसँगै अमेरिकी खनिज तेलको मूल्यमा पनि शुक्रबार १०।१ प्रतिशत गिरावट आएको छ, र पाँच वर्ष यताकै यो सबैभन्दा ठूलो नोक्सानी हो ।
मूल्यलाई स्थिर राख्न उत्पादनमा के कति कटौती गर्ने भन्ने विषयमा ठूला तेल उत्पादक राष्ट्रहरु साउदी अरेबिया, रसिया र अरु तेल उत्पादक मुलुकहरुबीच मतैक्य नभएपछि यस्तो समस्या आएको हो ।
विश्वव्यापी तेल बजारमा देखिएको उथलपुथलकै कारण मध्यपूर्व र एसियाली शेयर बजारमा व्यापक गिरावट आएको छ । तेलको मूल्यमा गिरावट आउँदा दक्षिण कोरिया, जापान र चीनलाई फाइदा पुग्ने अवस्था देखिए पनि विषम अस्थिरताले अर्थतन्त्रलाई ठूलो नोक्सानी गर्नेछ ।
मानिसको यात्रामा कटौती भएका कारण ऊर्जाको मागमा कमी आएको छ । कोरोनाभाइरसका कारण अर्थतन्त्रको गति सुस्त हुनुको अर्थ मागमा कमी आउनु पनि हो ।
सन् २०१४ मा ओपेकले अमेरिकी तेल नीतिमा आएको फेरबदललाई ध्यानमा राखी तेल उत्पादन कटौती गर्नुको साटो बढाएको थियो । यसबाट १०० अमेरिकी डलर प्रति ब्यारेल पुगिसकेको तेलको मूल्य सन् २०१५ मा ४० डलरभन्दा तल झरेको थियो ।
प्रकाशित मिति: २६ फाल्गुन २०७६, सोमबार