मुख्यमन्त्री राईद्वारा होलीको शुभकामना


 


काठमाडौं, फागुन २६
होलीको अवसरमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशबासीलाई शुभकामना दिएका छन् ।

फागु पूर्णिमा (होली) सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री राईद्वारा जारी गरिएको शुभकामना सन्देशमा भनिएको छ, “असत्यमाथि सत्यको विजयको रुपमा लिइने होली पर्वले मुलुकभर मानव जीवनलाई रंगिन र उल्लासमय बनाउन प्रेरित गरोस भन्ने कामना व्यक्त गर्दछु ।

हाम्रा चाडपर्वहरुले विविधतायुक्त नेपाली समाजमा सद्‍भाव बढाउँदै एकताबद्ध गर्न र आ-आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र सम्बर्द्धन गर्न अभिप्रेरित गरिरहेको सन्देशमा उल्लेख छ ।

जातीय तथा धार्मिक-साँस्कृतिक विविधताको अनुपम संगमका रुपमा रहेको हाम्रा पर्वलाई सबै नेपालीहरुले खुसी र मनोरञ्जन साटासाट गर्न विभिन्न रङहरुमा रंगिएर हर्षोल्लासपूर्वक धूमधामले मनाउने गरेको मुख्यमन्त्री राईको सन्देशमा भनिएको छ ।

‘‘यस पर्वले सबै नेपालीबीच सामाजिक सद्‍भाव कायम गर्दै सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न सबैलाई प्रेरित गर्ने मैले ठानेको छु,’’ सन्देशमा उल्लेख छ ।

मुख्यमन्त्री राईले मुलुकमा मनाइने विविध चाडपर्व र संस्कृतिहरुको संरक्षण तथा सम्बर्द्धन गर्दै समृद्धितर्फको यात्रामा अघि बढ्नु सबैको दायित्व भएको जनाएका छन् ।

प्रकाशित मिति: २६ फाल्गुन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्