इलाममा देशकै पहिलो चिया परीक्षण केन्द्र बन्दै


 


इलाम, फागुन २६

इलामको सूर्योदय नगरपालिकामा देशमै पहिलो चिया परीक्षण तथा प्रबर्द्धन केन्द्र निर्माण हुने भएको छ ।

२३ करोड रुपैयाँ लगानीमा बन्ने केन्द्र निर्माणका लागि सूर्योदय नगरपालिका र प्रदेश १ सरकारबीच सम्झौतासमेत भएको छ।

सूर्योदय वडा नं ७, कन्याममा निर्माण हुने केन्द्रको भवन निर्माणतर्फ १८ करोड र उपकरण तथा फर्निसिङ खरिदमा पाँच करोड हाराहारी रकम खर्च हुनेछ। आयोजनाका लागि प्रदेश सरकारले ७५ प्रतिशत ९१७ करोडभन्दा बढी र नगरपालिकाले बाँकी २५ प्रतिशत रकम खर्चिने भएका छन्।
चालू आर्थिक वर्ष ०७६र७७ भित्रै काम सुरु गर्न प्रदेश सरकारले नगरलाई पाँच करोड रुपैयाँ उपलब्ध गराउने सम्झौता भएको नगरले जनाएको छ। प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव विमलकुमार निर्मल र सूर्योदयका मेयर रणबहादुर राईले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।
बाँकी रकम आउँदो वर्ष प्रदेश सरकारले प्रदान गर्दैजाने सम्झौता भएको मेयर राईले बताउनुभयो । ‘भवन निर्माण सम्पन्न भएपछि नगरले कार्यविधि बनाएर केन्द्र सञ्चालनको संयन्त्र बनाउनेछ,’ उहाँले भन्नुभयो ‘नगर र प्रदेश सरकारको संयुक्त लगानी भएपनि केन्द्र सञ्चालनको जिम्मा नगरकै हुनेछ।’ चालू वर्षभित्रै निर्माणको प्रक्रिया अघि बढाउने योजना छ ।

पाँच दर्जन हाराहारी चिया प्रशोधन उद्योग रहेको सूर्योदय नगरपालिका जिल्लामै बढी चिया उत्पादन गर्ने स्थानीय तह हो। आठ हजार किसान चिया खेतीमै संलग्न रहेको सूर्योदयमात्र होइन, नेपालमा कहीं पनि सरकारी तहको चिया परीक्षण केन्द्र छैन। निजी क्षेत्रका उद्योगले व्यापारी आएका बेला उद्योगमा चिया चखाउने गरे पनि चिया परीक्षणकै लागि भनेर केन्द्र स्थापना हुन सकेको छैन।

केन्द्र स्थापना भएपछि देशका सबै ठाउँमा उत्पादन हुने चिया यहाँ आएका पर्यटक र चियाविज्ञले चाख्न पाउनेछन्। नगरका बगानमा नौ र उद्योगमा विशेषगरी ६ खालको तयारी चिया उत्पादन भइरहेको छ।

सूर्योदय नगरले डेढ वर्षअघि देशमै पहिलोपटक हरियो चियाको न्यूनतम् समर्थन मूल्यसमेत निर्धारण गरी कार्यान्वयन गरेको छ। चियालगायत सबै कृषिजन्य वस्तु अर्गानिक बनाउन ‘अर्गानिक नगर’ घोषणा गर्नेगरी योजना अघि बढाएको छ। नगरमा ठूलामात्र होइन, सहकारी र निजीस्तरबाट खुलेका साना चिया प्रशोधन उद्योगको संख्या पनि धेरै छ।

नेपालमा अर्थोडक्स, अर्गानिक अर्थोडक्स र क्रस टियर कर्ल सिटिसी चिया उत्पादन हुन्छ। इलाममा ह्वाइट, ग्रिन, इमरल, स्पेसियालिटी, ब्ल्याक र ओलङ गरी ६ प्रकारका अर्गानिक अर्थोडक्स चिया उत्पादन हुन्छन्। चिया प्राविधिकका अनुसार अर्थोडक्स चियामा पनि २८ प्रकारका उत्पादन प्रयोगमा छन्। नेपालमा उत्पादित तयारी चिया भारत, जर्मनी, अमेरिका, चीन, अस्ट्रेलिया, बेलायत, जापान, चेक गणतन्त्र, स्लोभाकिया, फ्रान्सलगायत देशमा समेत निर्यात भइरहेको छ। चिया तथा कफी विकास बोर्डका अनुसार आव ०७४–७५ मा २८ हजार पाँच सय ९५ हेक्टरमा गरिएको खेतीबाट नेपालमा दुई करोड ४८ लाख तीन हजार ६ सय १२ किलो चिया उत्पादन भएको छ।

प्रकाशित मिति: २६ फाल्गुन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्