चीनमा कोरोना भाइरस सङ्क्रमितका आफन्तलाई राखिएको होटल नै भत्कियो


 



दक्षिणी चीनको फुजिएन प्रान्तमा कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्तिहरूको सम्पर्कमा आएका मानिसलाई क्वारन्टीनमा राख्न प्रयोग गरिएको एउटा होटल भत्किएको छ ।

च्वान्जू नगरस्थित उक्त पाँचतले होटल भत्किँदा भग्नावशेषमा झन्डै ७० जना फसेका अधिकारीहरूले बताएका छन्। तीमध्ये ४७ जनालाई बाहिर निकालिएको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

घटनास्थलमा खिचिएको भिडिओमा उद्धारकर्ताहरूले खोजी गरिरहेको देखिन्छ।
भवन भत्किनुको कारण तथा कसैको मृत्यु भए वा नभएको स्पष्ट छैन। घटना शुक्रवार साँझ ७ ः३० बजे भएको थियो।

कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यले सङ्क्रमित व्यक्तिहरूसँग प्रत्यक्ष सम्पर्कमा आएका तिनका आफन्तलाई त्यहाँ अलग्गै निगरानीमा राखिएको थियो।

उक्त होटल सन् २०१८ मा खुलेको र त्यसमा ८० वटा अतिथिकक्ष भएको बताइन्छ। शुक्रवारसम्म फुजिएनमा झन्डै ३०० जनामा सङ्क्रमण भएको पुष्टि भएको थियो। त्यहाँ झन्डै ११,००० जनालाई निगरानीमा राखिएको थियो।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभरि सङ्क्रमित मानिसको सङ्ख्या एक लाख नाघेको छ। कोभिड–१९ भएर मृत्यु हुने बिरामीको सङ्ख्या पनि ३,००० कटेको छ। अधिकांश सङ्क्रमण र मृत्यु चीनको हुबे प्रान्तमा भएको तथ्याङ्कले देखाउँछ। बीबीसी

प्रकाशित मिति: २५ फाल्गुन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्