१९० जनामा ज्वरो, रोगको पहिचान हुँदै


 


काठमाडौं , फागुन २५
अजिरकोट–२ गोरखामा एक साताअघिदेखि फैलिएको भाइरल ज्वरो अझै नियन्त्रणमा आउन सकेको छैन।

देशैभर कोरोनाको चर्चा भइरहेका बेला सोही वडाको ओलाङ, खिन्पु र अपुन गरी तीन गाउँका स्थानीयमा ज्वरो आउने तथा रुघाखोकी लाग्नाले स्थानीयमा त्रास बढेको छ। सो गाउँपालिका उत्तरी चीनको सिमानामा रहेकाले पनि स्थानीयमा कोरोनाको त्रास बढेको हो।

अजिरकोट–२ मा रहेको प्रभा मावि अपुनका कक्षा ९ र १० मा अध्ययनरत ४० विद्यार्थीमा ज्वरो आउने, रुघाखोकी लाग्ने, घाँटी तथा छाती दुख्ने, टाउको दुख्ने, खोकी लाग्नेजस्ता लक्षण देखिएको थियो।

बिहीबार मात्रै खरिबोट स्वास्थ्य चौकीबाट अनमी कोपिला भट्टको टोलीले प्रभावित क्षेत्रमा पुगेर स्वास्थ्य जाँच गर्नुका साथै औषधी वितरण गरेको थियो भने शुक्रबार गोरखा अस्पतालका डा.सफल सुवेदीको टोलीले पनि प्रभावित क्षेत्रमा पुगेर चेकचाँज गर्नुका साथै औषधी वितरण गरेको अजिरकोट गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक ठाकुर भट्टले जानकारी दिए ।

विद्यार्थीमा देखिएको भाइरल ज्वरोपछि विस्तारै गाउँमा पनि देखिएको र विशेष गरी साना बच्चाहरूमा सर्ने क्रम रहेकाले स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने काम भइरहेको उनको भनाइ छ।

४० जनाबाट सुरु भएको रुघाखोकी तथा भाइरल ज्वरो शनिबारसम्म आइपुग्दा १ सय ९० जनामा पुगेको निरीक्षक भट्टले जानकारी गराए । यो कुन भाइरसको कारणले हो भन्ने कुरा अझै पत्ता लगाउन नसकिएको भट्टको भनाइ छ।

जनस्वास्थ्य निरीक्षक ठाकुर भट्टसहित डा.सफलको टोलीले दुई दिन लगाएर बिरामीको चेकजाँच गर्नुका साथै औषधी वितरण गरेको छ। बिरामीहरूमा ज्वरो आउने हुँदा कोरोनाको त्रास बढिरहेको आफूले पाएको डा.सफल सुवेदीले बताए ।

उनले भाइरल ज्वरोको लक्षण देखिएकाले आवश्यक औषधी वितरण तथा चेकजाँच गरेको र यही कारणले ज्वरो आएको हो भनेर भन्न नसकिने बताउँदै भने, ‘हामीहरू कारण पत्ता लगाउँदै छौं, आवश्यक परे विज्ञसहितको टोली गएर औषधी उपचार गर्छौं।’

बढी चिसोका कारण पनि भाइरल ज्वरो आएको र स्थानीयमा त्रास बढेको उनले बताए । टोलीले यो कुन किसिमको भाइरल वा फ्लु के हो ल्याब परीक्षण गरेपछि मात्र थाहा हुने बताएको छ।

अजिरकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा सूचना अधिकारी सुरेश दवाडीले स्थानीयमा देखिएको समस्याबारे जानकारी दिँदै भने, ‘ज्वरो आउँदैमा कोरोना हुन सक्दैन।’ नेपाल समाचारपत्र

प्रकाशित मिति: २५ फाल्गुन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्