प्रचण्डको ‘कार्यकारी हैसियत’ सङ्कटमा !


 


काठमाडौं, फागुन २२
पार्टी एकीकरणपछि विभिन्न दृष्टिले छायामा पार्दै लगिएका वरिष्ठ नेता माधवकुमार नेपाल नेकपामा पुनः शक्तिशाली बन्ने अवस्था पैदा भएको छ ।

एमाले र माओवादीबीच एकीकरण भएपछि प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीचको छलफल तथा सहमतिका आधारमा मात्र प्रायः निर्णय हुँदै आएका थिए ।

कुनै समय माओवादीका निम्ति सबैभन्दा ठूलो चुनौती बनेका नेता केपी शर्मा ओलीले गत आमनिर्वाचनमा माओवादीसँग गठबन्धन गरेर नेकपालाई बहुमत दिलाएका थिए । पार्टी एकीकरण हुनेमा आशंका बढिरहेका बेला केपीकै विशेष अग्रसरतामा पौने २ वर्षअघि पार्टी एकीकरण भएको थियो ।

यस अवधिमा आफ्ना पुराना सहकर्मी नेता माधवकुमार नेपाललाई भन्दा माओवादी पृष्ठभूमिका प्रचण्डलाई अधिक महत्त्व दिने काम पनि अध्यक्ष ओलीबाट हुँदै आएको हो ।

३ महिनाअघि प्रचण्डलाई कार्यकारी अध्यक्षको हैसियत दिएर केपीले प्रचण्डलाई थप बलियो बनाएका थिए । यसरी केपी ओलीबाट ‘लिन सक्ने जति’ लिइसकेपछि प्रचण्ड भने केपीलाई नै समाप्त गर्न उद्यत भए ।

‘कार्यकारी’को हैसियत प्राप्त हुँदा अध्यक्ष केपी ओली र प्रचण्डबीच दुईवटा मूल सम्झौता भएका थिए । दुवै अध्यक्षको सहमतिबाट मात्र हरेक निर्णय लिने र केपी नेतृत्वको वर्तमान सरकारलाई ५ वर्ष पूरै निरन्तरता दिने सम्झौता भएकामा प्रचण्डले सभामुख चयनलगायतका केही महत्त्वपूर्ण विषयमा अध्यक्ष केपी ओलीसँग सहमति बनाएनन् ।

बरु पार्टीमा तीव्र चलखेल गर्दै ‘एमाले’का अन्य नेतालाई समेत आफ्नो चङ्गुलमा पारेर आफैँले चाहेको व्यक्तिलाई सभामुख चयन गरे । यसरी अग्नि सापकोटालाई सभामुख बनाउन सक्नुलाई प्रचण्डले केपीमाथि महान् विजय ठाने ।

यो सफलतालगत्तै प्रचण्डले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाउने खेल सुरु गरेका छन् र प्रचण्डको पछिल्लो खेलबारे स्वयम् प्रधानमन्त्री जानकार रहेका बताइन्छ ।

सहमतिमा मात्र निर्णय लिइने पूर्वसहमति तोडिएको र सरकारको नेतृत्व बदल्ने षड्यन्त्र पनि गरेकाले केपीका दृष्टिमा प्रचण्ड एक ‘विश्वासघाती’ पात्रका रूपमा देखापरेका छन् ।

त्यसैले केपी ओली अब प्रचण्डलाई विश्वास नगर्ने मनस्थितिमा रहेका बताइन्छ । त्यसैले कुनै दिन प्रचण्डलाई दिएको कार्यकारी पद फिर्ता हुने प्रक्रिया अघि बढ्यो भने पनि आश्चर्य हुनेछैन । घटना र विचार साप्ताहिकबाट

प्रकाशित मिति: २२ फाल्गुन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्