मलाई प्रधानमन्त्रीको प्रस्ताव आयो : नेता नेपाल


 


काठमाडौं , २१ फागुन 
पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले आफूलाई सरकार ढाल्ने र प्रधानमन्त्री बन्ने अफर आएको खुलाशा गरेका छन् । उनको यो खुलाशा आजको जनआस्था साप्ताहिकले खबर छापेको छ ।

‘तपाईंलाई असयोग गर्ने भनेको छैन तर सहयोग पनि के नाममा गर्ने, कुन कुरा हेरेर यो चाहीँ राम्रो गर्नु भयो भनेर सहयोग गर्ने ?’ माधव नेपालले केपी ओलीलाई भनेको संवाद उल्लेख गर्दै जनआस्थाले लेखेको छ– यो संवाद हो गत बुधबार साँझ ४ बजेर २० मिनेट जाँदा, बालुवाटारको ।

गत बुधबार साँझ सचिवालय बैठक सकिएर सबै हिँडिसकेका थिए । प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकको निर्णयबारे जानकारी दिएलगत्तै अध्यक्षबाट फरक धारणा आयो । उता, कोटेश्वर नपुग्दै माधव नेपालको फोन बज्यो । ‘एकदमै जरुरी छ, तपाईं फर्कनुपर्ने भयो कमरेड,’ भनेपछि उनी फेरि बालुवाटार पुगे ।

प्रधानमन्त्री केपी ओलीले आग्रह गर्दै भने, ‘वामदेवलाई राष्ट्रियसभामा लैजान नसक्ने मेरा केही बाध्यता छन् । मैले युवराज खतिवडालाई दोहो-याउने भनेर वचन दिइसकेको छु, राष्ट्रपतिलाई पनि त्यो कुरा सुनाइसकेको छु । यसैमा मलाई साथ दिनुप-यो ।’

तर, माधवले मानेनन् । उनले भने, ‘तपाईंले एक डेढ घण्टाअघि मेरो बाध्यता यो छ भन्न सक्नुहुन्थ्यो । हामी पनि बुझ्छौँ नि, के समस्या हुन्छ भन्ने । जेएन, म र प्रचण्ड गरी तीन जना प्रधानमन्त्री भइसकेका मान्छे त्यहीँ थियौँ त । प्रधानमन्त्रीले पार्टी नेतृत्व, व्यक्ति–व्यक्ति र सरकारलाई सन्तुलनमा लिएर जानुपर्छ भन्ने कुरा त हिजो हामीले फेस गरेरै आएको हो नि ! त्यही परिस्थिति आज तपाईंमाथि आइपरेको हुनसक्छ । यदि त्यस्तो भनिदिनुभएको भए कतै वामदेवले नै भैगो त म जान्न भन्न सक्नुहुन्थ्यो होला ।’

प्रमले भने, ‘तर, यो निर्णय म कार्यान्वयन गर्न सक्दिनँ ।’ माधवले आश्चर्य मान्दै भने, ‘निर्णय भइसकेपछि मान्दिनँ भन्न पाइँदैन । तपाईं विश्वस्त हुनुस्, जे भए पनि सरकार तलमाथि हुँदैन ।’

‘यदि सरकार तलमाथि हुने थियो भने उहिल्यै भइसक्थ्यो । किनभने, यसबीच के कस्ता अफर आए, कता–कताबाट, कस्ता कस्ता चलखेल भए । मेरै हकमा पनि कस्ता कस्ता प्रस्ताव आए ? तपाईंलाई थाहै छ तर म कहिल्यै त्यतातिर लागिनँ । अहिले तपाईंको सरकारमाथि कतैबाट केही हुन नदिने कुराको जिम्मा हामी नै लिन्छौँ । हामीसँगै तपाईं किन आत्तिनुहुन्छ ?,’ माधवले थपे ।

यतिभन्दा पनि प्रधानमन्त्रीले उही कुरा दोरो-याए । ‘वामदेवलाई संविधान संशोधनको जिद्धिबाट पछाडि हटाएर मैले नै मध्यमार्गी बाटोमा ल्याएको हुँ । यति भएपछि उहाँ राष्ट्रियसभामा जान तयार छु भन्ने ठाउँमा पुग्नुभएको हो । अब त्यहाँ पनि रोक्न खोजियो भने मनपरी शुरु भयो भनेर बुझ्दा हुन्छ,’ त्यसपछि माधवले ओलीलाई चेतावनी दिए।आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

प्रकाशित मिति: २१ फाल्गुन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्