नेपालबाट फर्किएका स्पेनिस नागरिकको कोरोना भाइरसका कारण मृत्यु !


 


एजेन्सी, २१ फागुन । नेपालबाट स्पेन फर्किएका एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको खुलेको छ । स्पेनमा गत फरबरी १३ मा मृत्यु भएका व्यक्तिको मृत्युको कारण कोराना संक्रमण भएको खुलासा भएको हो । युकेबाट सञ्चालित प्रतिष्ठित अनलाइन डेलीमेलमा प्रकाशित समाचार अनुशार ती नागरिक नेपालबाट स्पेन पुगेका थिए ।

भ्यालेन्सियाका स्वास्थ्य अधिकारीहरुले ती व्यक्तिको मृत्यु कोरोना भाइरस संक्रमणबाट भएको पुष्टी गरेका छन् । नेपाल भ्रमणगरेर फर्केपछि ती व्यक्ति बिरामी भएर अस्पतालमा भर्ना भएका थिए ।

अहिलेसम्म ती व्यक्तिको मृत्यु के कारणले भएको थियो भन्नेबारे खुलाइएको थिएन । यो नै कोरोना संक्रमणबाट स्पेनमा भएको पहिलो मृत्यु भएको जनाइएको छ । स्पेनमा कोरोना संक्रमणबाट एकजनाबाहेक अरुको मृत्यु भएको छैन ।

नेपालमा अहिलेसम्म एकजनामामात्र कोरोना संक्रमण भएको र उनको पनि उपचार भइसकेको बताइएको छ । तर नेपालबाट स्पेन फर्केका यी व्यक्तिमा कोरोना संक्रमण देखिनुले नेपालमा कोरोना संक्रमितहरु बजारमा खुलेआम हिडिरहेको हुनसक्ने आशंका बढेको छ । यद्धपी नेपाल सरकारले भने यहाँ केही दिनअघि देखि मात्रै सतर्कता अपनाउन थालेको छ ।

प्रकाशित मिति: २१ फाल्गुन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्