विशेष अदालतमा मुद्दाको चाप


 


काठमाडौं, फागुन २०
इजलास कम हुँदा विशेष अदालतमा मुद्दा व्यवस्थापनको चाप परेको छ । विशेष अदालतमा अहिले करिब पाँच सयमा मुद्दा छन् । दैनिक रूपमा नियमित दुई इजलास मात्र बस्ने गरेको छ । त्यसमा पनि अधिकांश समय थुनछेककै क्रममा बित्ने गरेको छ ।

इजलास व्यवस्थापनका लागि नै अदालतले बहुचर्चित ललिता निवास जग्गा प्रकरण मुद्दाका प्रतिवादीलाई चरणबद्ध रूपमा अदालतमा उपस्थित हुन आउने म्याद जारी गरिरहेको छ । मुद्दा दर्ता भएको करिब एक महिना बिते पनि सबै प्रतिवादीलाई म्याद पठाइएको छैन ।

विशेष अदालतका उपरजिस्ट्रार इन्द्रकुमार खड्काले इजलास व्यवस्थापनमा सहजताका लागि चरणबद्ध रूपमा म्याद पठाइएको जानकारी दिए । खड्काले भने, ‘अहिले करिब पाँच सय हाराहारीमा मुद्दा छन् । ठूला विषय र धेरै प्रतिवादी भएका मुद्दा पनि थुप्रै छन् । लगतमा एक थान भए पनि त्यस्ता मुद्दामा प्रतिवादीको बयान, थुनछेक लगायतमै धेरै समय जान्छ ।’

इजलास व्यवस्थापनका लागि ललिता निवास प्रकरणमा पनि चरणबद्ध रूपमा उपस्थित हुने म्याद पठाइएको हो । सजाय दाबीसमेत गरिएका ११० प्रतिवादी र जग्गा जफत मात्र गर्न माग गरिएका ६५ प्रतिवादीलाई क्रमिक रूपमा म्याद जारी गरिएको हो ।

‘‘हामीले चरणबद्ध रूपमा म्याद जारी गरेका छौँ । दण्ड तथा सजाय माग गरिएका र जग्गा मात्र जफत गर्न माग गरिएका प्रतिवादीलाई क्रमशः म्याद जारी गरिरहेका छौँ । जम्मा ५४ जनालाई म्याद जारी गरिसकेका छौँ,’ उपरजिस्ट्रार खड्काले भने ।

ललिता निवास प्रकरणमा विशेषले दण्ड र जरिमानासमेत माग गरिएका मध्ये क्रमसङ्ख्या ३४ सम्म र जग्गा जफतको मात्र माग गरिएका ६५ प्रतिवादीतर्फ क्रमसङ्ख्या २० सम्म म्याद जारी गरिएको छ । आजको गोरखापत्र दैनिकबाट

प्रकाशित मिति: २० फाल्गुन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्