पूर्वराजा ज्ञानेन्द्रले दिल्लीबाट ल्याए यस्ताे सन्देश, नेपालमा ठूलो राजनीतिक हलचल !


 


काठमाडौं, फागुन २०
२०७६ साल फागुन ४ गते भारत भ्रमणमा गएका पूर्वराजा ज्ञानेन्द्र शाह २०७६ साल फागुन १८ गते स्वदेश फर्किएका छन् ।

भारतको राजधानी नयाँ दिल्ली हुँदै अमृतसर पुगेका पूर्वराजा ज्ञानेन्द्र तथा उनकी पत्नी कोमललगायतको टोलीले ८ फागुन २०७६ मा विश्वप्रसिद्ध स्वर्ण मन्दिरमा पूजापाठ गरेको थियो र त्यसको अघिल्लो दिन ७ फागुन २०७६ मा नेपालको प्रजातन्त्र दिवसका दिनै अमृतसरमा कोमल राज्यलक्ष्मी शाहको जन्मोत्सव पनि पूर्वराजाको टोलीले मनाएको थियो ।

२०६५ साल जेठ २९ गते राजगद्दी र राजदरबारबाट बाहिरिएका पूर्वराजा ज्ञानेन्द्र शाहले पटकपटक भारतको भ्रमण गरेका छन् ।

यसभन्दा अगाडि व्यक्तिगत र धार्मिक यात्रा गर्दै आएका भए पनि मुलुक राजतन्त्र समाप्त भएर गणतन्त्रमा प्रवेश गरेको ११ वर्षपछि २०७६ साल फागुन ४ गते भारतको राजधानी नयाँ दिल्ली पुगेका पूर्वराजा ज्ञानेन्द्रले पहिलो पटक राजनीतिक भ्रमण गरेको टिप्पणी काठमाडौंदेखि नयाँ दिल्लीमा समेत भएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको शीर्ष राजनीतिक व्यक्तित्वहरूसँग भेटघाट गरेर भारतका तत्कालीन प्रधानमन्त्री मनहोहन सिंहको विशेष दूत भएर काठमाडौं आएका कर्ण सिंहले अगाडि बढाएको त्रिपक्षीय सम्झौतालाई आफूले इमानदारीपूर्वक निर्वाह गरेको भए पनि उक्त सम्झौताका अन्य पक्ष संसदवादी सात दलका साथै तत्कालीन विद्रोही माओवादी र मध्यस्थताको भूमिका निर्वाह गरेको भारतीय पक्ष इमानदार नभएको गुनासो व्यक्त गरेको स्रोतले बताएको छ ।

पूर्वराजा ज्ञानेन्द्र यही कारणले गर्दा मुलुकको अहिलेको राजनीतिक अवस्थाप्रति असन्तुष्ट रहेको सन्देश उनले ७०औँ प्रजातन्त्र दिवसको उपलक्ष्यमा भारतको अमृतसरबाट नै जारी गरेको सन्देशले स्पष्ट संकेत दिएको छ ।

पूर्वराजा ज्ञानेन्द्रले ११ वैशाख २०६३ मा भएको शाही घोषणाका लागि भएको त्रिपक्षीय सम्झौताअनुसार मुलुकको राजनीतिमा आफ्नो पनि भूमिका र स्थान हुनुपर्ने संकेत गर्दै सर्वहितकारी ‘प्रजातान्त्रिक धर्म’ निर्वाह गर्न नेपालका राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।

पहिलो पटक पूर्वराजा ज्ञानेन्द्र शाहले १५ दिन लामो छिनोफानो भनिएको भारतको राजनीतिक भ्रमण सम्पन्न गरेका छन् । दुई साता लामो यो राजनीतिक भ्रमणका क्रममा पूर्वराजा ज्ञानेन्द्रल शाहले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँगै भारत–नेपाल राजनीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तिहरूसँग र भारत–नेपाल सनातन हिन्दु एकता परिषदका पदाधिकारीहरूसँग पनि भेटवार्ता गरेका छन् ।

नेपालको सत्ता राजनीतिसँगै सत्तारुढ नेकपामा ठूलो हलचल भइराखेको र पूर्वराजा ज्ञानेन्द्र शाहले पहिलो पटक २ साता लामो नयाँ दिल्लीको राजनीतिक यात्रा सम्पन्न गरेको सन्दर्भमा नयाँ दिल्लीका हिन्दूवादी नेताहरूले नेपालको राजनीतिमा ठूलो परिवर्तन आउने दाबी गर्न थालेका छन् ।

यो दाबीको आधार नभए पनि दिल्लीका हिन्दूवादीहरूले नेपालमा अहिलेकै व्यवस्था अगाडि बढ्न नसक्ने र आगामी ६०/६५ दिनमा ठूलो राजनीतिक परिवर्तन हुने दाबी पनि गरेका छन् । साँघु साप्ताहिक

प्रकाशित मिति: २० फाल्गुन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्