कोरोना भाइरसले विश्वभर तीनहजार बढीको मृत्यु, चीन बाहिर संक्रमण दर बढ्दाे


 


काठमाडौं, फागुन १९
कोरोना भाइरसका कारण विश्वभर तीनहजार बढीको मृत्यु भएको छ । चीनसहित विभिन्न दशवटा देशका नागरिक पनि कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

अहिलेसम्म विश्वभर ९० हजार बढी कोरोना संक्रमित देखिएका छन् । अहिले चीनभन्दा अन्य देशमा कोरोनाभाइरसको संक्रमण बढ्दो देखिएको छ ।

संक्रमण देखिएका बिरामीमध्ये दुईदेखि पाँच प्रतिशत बिरामीको मृत्यु भएको छ । कोरोनाका कारण चीनपछि इरानमा सबैभन्दा बढी नागरिकको मृत्यु भएको छ ।

इरानमा ५४ जनाको मृत्यु भएको छ । इटलीमा अहिलेसम्म ३४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । इटलीमा पछिल्लो ४८ घण्टामा यो संक्रमणका बिरामी दोब्बरले बढेका छन् ।

बेलायतमा अहिलेसम्म ३६ जनामा यो सक्रमण देखिएको छ भने अमेरिकामा पनि दुईजनाको मृत्यु भएको छ । दक्षिण कोरियामा चारहजार बढीलाई यो संक्रमण देखिएको छ भने ४७६ जना नयाँ बिरामी फेला परेका छन् ।

चीनमा सोमबार बिहान ४२ जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै हुबेइ प्रान्तका हुन् । त्यहाँ २०२ जना नयाँ संक्रमित फेला परेका छन् । चीनमा अहिलेसम्म २ हजार ९ सय १२ जनाको मृत्यु भएको छ भने ८० हजार बढी संक्रमित छन् । बीबीसी

प्रकाशित मिति: १९ फाल्गुन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्