चीनवको वुहानबाट आएका १८ जना घर फर्काइए


 


भक्तपुर , फागुन १९
चीनको वुहानबाट नेपाली विद्यार्थीलाई उद्धार गरी ल्याउने चालकसहित १८ जनाको टोली क्वारेन्टाइनको बसाइ पूरा गरी आइतबार घर फर्किएको छ।

नगरकोटको खानेपानी तालिम केन्द्र क्वारेन्टाइनमा राखिएका जहाजका चालकसहित १८ जनाको शनिबार संकलन गरिएको नाक र घाँटीको स्वाब परीक्षणको रिपोर्टमा कोरोना संक्रमण नपाइएपछि उनीहरूलाई क्वारेन्टाइनमा राखिएको १५ औं दिनमा घर फर्काइएको हो।

त्यहाँ रहेका १८ जनालाई बिदाई गरी घर फर्काइएको सुरक्षाको नेतृत्व गरिरहेको नेपाली सेनाको वीरदल गणका गणपति कर्णेल शिव पौडेलले जानकारी दिए । यसअघि यही फागुन ४ गते नै उनीहरूको नाक र घाँटीको स्वाब नमुना संकलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षण गरिएको थियो भने दोस्रोपटक क्वारेन्टाइन बसेको १४औं दिनमा शनिबार स्वाब नमुना संकलन गरिएको थियो।

यता खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका १ सय ७५ जनाको भने अझै रिपार्ट आएको छैन। आइतबार नाक र घाँटीको स्वाब नमुना संकलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षणका लागि लगेको छ। उनीहरूको रिपोर्ट आज सोमबारसम्म आउन सक्ने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

धेरै जनाको स्वाब नमुना एकैपटक परीक्षण गर्नुपर्ने भएकाले समय लाग्ने र सबैको रिपोर्टमा कोरोना संक्रमण नभएको आयो भने मात्रै घर फर्काइने भएको हो। मन्त्रालयका अनुसार १ सय ७५ जनामध्ये एकजनामा मात्रै कोरोना संक्रमणको लक्षण देखियो भने पनि सबै जनालाई फेरि अर्को १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ।

खरिपाटी क्वारेन्टाइनमा स्वास्थ्य परीक्षणमा रहनुभएका नेपाली सेनाका क्याप्टेन डा.निवन फुँयालले अहिलेसम्म क्वारेन्टाइनमा रहेका कसैमा पनि ज्वरो आउने, रुघा लाग्नेजस्ता कुनै लक्षण नदेखिएको जानकारी दिए । नेपाल समाचारपत्र

प्रकाशित मिति: १९ फाल्गुन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्