स्वास्थ्य मन्त्रालयमा डेढ वर्षमा ६ सचिव


 


काठमाडौं, फागुन १९
यादव कोइराला डेढ वर्षमा स्वास्थ्य मन्त्रालय पुग्ने छैटौँ सचिव बनेका छन् । यसअघि पाँच सचिवको सरुवा भएको छ ।

मन्त्रिपरिषद्को आइतबारको बैठकले स्वास्थ्यसचिव खगराज बराललाई उपराष्ट्रपति कार्यालयमा लगेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कोइरालालाई स्वास्थ्यमा ल्याउने निर्णय गरेको छ ।

२८ असोज ०७५ मा सचिव डा. पुष्पा चौधरीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णयसँगै स्वास्थ्य मन्त्रालयको प्रशासनमा अस्थिरता सुरु भएको हो । सरकारले मन्त्रालयमा प्रशासन तर्फका केदारबहादुर अधिकारीलाई मंसिर १७ गते स्वास्थ्य सचिवका रुपमा सरुवा गरेको थियो ।

माघ ३ मा अधिकारीलाई पनि स्वास्थ्यबाट सरुवा गरेर सरकारले अर्का सचिव चन्द्र घिमिरेलाई स्वास्थ्यमा पठाएको थियो । सरकारले घिमिरेलाई पनि वैशाख २ मा स्वास्थ्यबाट सरुवा गर्‍याे । उनको ठाउँमा कर्णाली प्रदेशको प्रमुख सचिव रहेका रामप्रसाद थपलियालाई पठाइएको थियो । भदौ ९ मा स्वास्थ्य सचिवका रुपमा रहेका रामप्रसाद थपलियालाई हटाएर शिक्षा सचिव रहेका खगराज बराललाई स्वास्थ्य सचिवमा सरुवा गरिएको थियो । उनको पनि सरुवा भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

प्रकाशित मिति: १९ फाल्गुन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्