पूर्वराजा शाह दम्पत्तिको विमानस्थलमा स्क्रिनिङ


 


काठमाडौं, फागुन १९
पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्तिको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नोबेल कोरोना भाइरस(कोभिड १९) संक्रमणको परीक्षण गरिएको छ । दुई साता लामो भारत भ्रमण सकेर स्वदेश फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमलको विमानस्थलमा कोरोना भाइरस संक्रमणको परीक्षण गरिएको हो ।

विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्तिको शरीरको तापक्रम सामान्य रहेकाले स्वास्थ्य परीक्षणमा पास भएपछि उहाँहरु आफ्नो गन्तव्य लाग्नु भएको थियो। आइतबार स्वदेश फर्किएका शाह अन्तर्राष्ट्रिय टर्मिनलको आगमन कक्ष छिरेलगत्तै सजिलै अगाडि बढेनन्। पत्नी कोमलसहित अगाडि बढिरहेका शाहको शरीरमा काँधमा ट्याङ्की र हातमा स्प्रे बोकेका दुई जनाले केही छर्किए।

त्यसको सामुन्ने हेल्थ डेस्क थियो। हेल्थ डेस्क पार गरेर अध्यागमन कक्षमा छिर्न लाग्दा केही मान्छे शाहलाई परीक्षण गर्न खोज्दै थिए। एक महिला कम्प्युटरमा केही हेर्दै थिइन् भने अर्का एक पुरुष ‘बन्दुकजस्तो’ कुनै सामग्रीको टुप्पो शाहको निधार नजिकै जोडाउन खोज्दै थिए। कम्प्युटरमा थर्मल स्क्यानरमार्फत शाहको शरीरको तापक्रम हेरिँदै थियो। ‘इन्फ्रारेड गन’मार्फत पनि शाहको तापक्रम कम्प्युटरमा हेरिँदै थियो।

तर उनको परीक्षणमा शंकास्पद कुनै कुरा नदेखिएपछि आफ्नो गन्तव्य गएका थिए । त्रिभुवन विमानस्थलबाट नेपाल भित्रने यात्रुमा कोरोना भाइरसको संक्रमण हुने शंकाले अहिले यसैगरी परीक्षण गर्न थालिएको विमानस्थलले जनाएको छ । सामान्यता पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश तथा विदेशमा जाँदा आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विना रोकटोक भीआईपी कक्ष प्रयोग गर्छन्। अन्य भीआईपीलाई जस्तै उनलाई पनि त्यहाँ कुनै रोकटोक हुँदैन।

कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ९७९ पुगेको छ । चीनको वुहानबाट सुरु भएको कोरानो भाइरसको संक्रमण युरोप र मध्यपूर्वमा पनि देखिएको छ । चीनपछि सबैभन्दा धेरै इरानमा २ सय ९० जनाको मृत्यु भएको छ ।  खाडी मुलुकहरु मध्ये कुवेत, बहराइन, मलेसिया, यूएईमा पनि कोरोनाको संक्रमण देखिएको छ ।

कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा तीव्र रुपमा बिस्तार भएको र जोखिमको अवस्था उच्च बनेको विश्वस्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । कोभिड–१९ को प्रभाव तथा जोखिमको अवस्था उच्च तहमा पुगेको डब्लुएचओको भनाई छ । कोरोनाबाट गम्भिर संक्रमित मध्ये ७ प्रतिशतको मृत्यु भएको छ ।

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिने जोखिम अति उच्च रहेको भन्दै डब्लुएचओले सतर्क रहन आग्रह गरेको छ ।डब्लुएचओका प्रमुख डा. टेड्रोस अड्हनोम गेब्रियेसुसले कोरोना भाइरसलाई लिएर फैलिएको डर र गलत जानकारी सबैभन्दा ठूलो चुनौति रहेको बताएका छन् ।

विश्वका ५० भन्दा बढी देशमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । जेनेभामा भएको पत्रकार सम्मेलनमा डा. टेड्रोसले अहिलेसम्म भाइरसहरु स्वतन्त्र रुपमा फैलिएको प्रमाण अहिलेसम्म फेला नपरेको बताए ।

प्रकाशित मिति: १९ फाल्गुन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्