पेट्रोलियम पदार्थमा लगाइएको थप कर नहटाए सडक आन्दोलन गर्ने तरुण दलको चेतावनी
काठमाडौं, फागुन १८
पेट्रोलियम पदार्थमा लगाइएको कर नहटाए आन्दोलन गर्ने नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले चेतावनी दिएको छ । पेट्रोलियम पदार्थमा थप कर लगाएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाउदै तरुणले यस्तो चेतावनी दिएको हो ।
तरुण दलले विज्ञप्ति जारी गर्दै थप पाँच रुपैयाँ थपेर जनतामाथि अन्याय गरेको आरोप लगाएको छ । ‘हप्तादिन अगाडि मात्र ७० करोडको भ्रष्टाचारको प्रमाण भेटिए पनि संरक्षण गर्न लागि पर्ने राज्यको अबौं भ्रष्टाचारमा संलग्न रहेको नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पेट्रोल, डिजेल र हवाई ईन्धन माथि कर लगाएकोमा तरुण दल केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा उल्लेख छ ।
तरुण दलले चेतावनी दिँदै अगाडि भनेको छ, ‘ओली सरकारले महंगीको मारमा परेर मुलुकलाई अन्योलै अन्यौलको अवस्थामा पारेर जनतालाई पीँडा थपेको बेला पुनः मध्यमबर्गीय परिवारलाई आवश्यक पर्ने पेट्रोलियम पदार्थमा लगाईएको कर तत्काल हटाउन तरुण दल भ्रष्टाचारी ओली सरकारलाई जोडदार माग गर्दछ ।’
तरुण दलका अध्यक्ष जीतजंग बस्नेतको हस्ताक्षरमा जारी विज्ञप्तिमा थप चेतावनी दिँदै भनिएको छ, ‘ जनताको हितमा गरिएको तरुण दलको मागलाई बेवास्ता गरी जनतामाथि अन्याय नगर्न चेतावनी दिँदै पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता नलिए जनता बिरुद्धको अन्यायका बिरुद्ध सडक आन्दोलन पछि नपर्ने ओली सरकारलाई दल ध्यानाकर्षण गराउन चाहन्छु ।’
प्रकाशित मिति: १८ फाल्गुन २०७६, आइतबार