तोकिएकै समयमा स्थानीय निर्वाचन हुनुपर्नेमा खनालको जोड
इलाम, भदौ २८ पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले तोकिएकै समयमा स्थानीय निकायको निर्वाचन हुनुपर्नेमा जोड दिनुभएको छ ।
इलामको सूर्याेदय नगरपालिकाको फिक्कलमा आज बिहान आयोजित कार्यकर्ता भेलामा नेता खनालले आगामी माघ ७ गतेसम्ममा स्थानीय निकायको निर्वाचन हुनुपर्ने बताउँदै निर्वाचन नभए देश सङ्कटतर्फ उन्मुख हुने धारणा राख्नु भयो ।
कार्यक्रममा उहाँले संविधान संशोधन तत्काल सम्भव हुन नसक्ने बताउनुभएको छ । “संविधान कार्यान्वयन चरणमा छ, कार्यान्वयन चरणमा रहेको संविधान संशोधन हुँदैन” – उहाँले भन्नुभयो ।
इलामको विकासका साथै समग्र देश विकासका लागि आर्थिक क्रान्ति सुरु भइसकेको उल्लेख गर्दै सुदूरपूर्व इलामबाट देश विकासको अभियान थाल्नुपर्ने उहाँको भनाइ छ ।
गत आव २०७२÷७३ मा सांसद विकास कोष र निर्वाचन क्षेत्रबाट सञ्चालन गरिएका विभिन्न विकास निर्माणका पूर्वाधारको नेता खनालले अनुगमनसमेत गर्नुभएको छ ।
प्रकाशित मिति: २८ भाद्र २०७३, मंगलबार