दिल्ली हिंसामा २७ जनाको मृत्यु, भड्काउ भाषण दिने नेतालाई पक्राउ गर्न आदेश


 



नयाँदिल्ली
भारतको राजधानी नयाँदिल्लीमा भैरहेको हिंसात्मक प्रदर्शनका कारण २७ जनाको मृत्यु भएको छ । सोमबार र मंगलबारसम्म भएको दंगामा परेर एक प्रहरीसहित २७ जनाको ज्यान गएको हो भने २ सय ५० घाइते भएका छन् ।

बुधबार स्थिति शान्तिपूर्ण रहे पनि त्यहाँमा बासिन्दामा अझै पनि भय र त्रास रहेको देखिन्छ । तर, स्थानीय बासिन्दाहरूमा अहिले भने भय र त्रास कायमै छ । स्थानीयहरू बाहिरका मानिससँग बोल्नबाट अझै डराइरहेका थिए ।

स्थानीयहरू घरका छतबाट सडकको दृश्य नियालिरहेको देखिन्थे । केही स्थानीयहरूले समयमै पर्याप्त मात्रामा सुरक्षाफौज तैनाथ गरिएको भए हिंसात्मक घटना हुने थिएन भन्दै आक्रोशसमेत व्यक्त गरे ।

परिस्थिति असामान्य बन्दै गएपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मंगलबार अपराह्न गृहमन्त्री अमित शाह र दिल्लीका उपराज्यपाल जी बैजालसँग भेट गरेका थिए ।

त्यो भेटपछि केन्द्र सरकारले हिंसाग्रस्त क्षेत्रमा थप प्रहरी परिचालन गर्ने निर्णय गरेको थियो । यसैबीच, दिल्ली उच्च अदालतले भड्काउ भाषण दिने कपिल मिश्रलगायतका नेतालाई पक्राउ गर्न आदेश दिएको छ ।

भारतीय जनता पार्टीका दिल्ली नेता कपिल मिश्रले गत आइतबार नागरिकता ऐनको विरोधमा प्रदर्शन गरिरहेकालाई तीन दिनभित्र प्रदर्शन अन्त्य गर्न अन्यथा आफूहरूले जे पनि गर्न सक्ने भन्दै खुला चुनौती दिएका थिए । मिश्राले त्यस्तो अभिव्यक्ति दिएको भोलिपल्टदेखि प्रदर्शनले दंगाको रूप लिएको थियो ।

प्रकाशित मिति: १५ फाल्गुन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्