ट्रस्टले पूर्वनिर्णय उल्टाएर यतीलाई भाडामा दिएको खुलासा


 


काठमाडौं, फागुन १४
नेपाल ट्रस्टले श्वेत–पत्र जारी गर्दै थामसेर्कु प्रालिले पेस गरेको प्रस्ताव सच्याएर दरबारमार्गको जग्गा भाडामा दिइको स्पष्ट पारेको छ। नेपाल ट्रस्ट सञ्चालक समितिका अध्यक्ष ईश्वर पोखरेलले जारी गरेको श्वेत–पत्रमा ट्रस्टको स्वामित्वमा रहेको दरबारमार्गको जग्गा भाडामा लगाउँदा सचिवस्तरीय निर्णयबाट स्वीकृत भएको थामसेर्कु प्रालिको प्रस्ताव सहसचिवस्तरको निर्णयबाट उल्टाएर सम्झौता गरिएको उल्लेख छ। थामसेर्कु यती ग्रुपको भगिनी कम्पनी हो।

ट्रस्टको स्वामित्वमा रहेको सम्पत्ति हिनामिना भएको आरोप लागेपछि त्यसलाई प्रष्ट पार्न भन्दै ट्रस्टको कार्यालयले जारी गरेको श्वेत–पत्रमा २०७३ फागुन ६ गते सचिवस्तरीय निर्णयबाट थामसेर्कु प्रालिको ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार नौ सय पाँच रुपैयाँको प्रस्ताव स्वीकृत भएको उल्लेख छ। ट्रस्टले मंगलबार जारी गरेको श्वेत–पत्रअनुसार गोरखापत्रमा थामसेर्कुको आर्थिक प्रस्ताव स्वीकृत गरिएको आशयको सूचना फागुन १० गते प्रकाशित भएपछि थामसेर्कुले आफूले गरेको प्रस्ताव ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार नौ सय पाँच रुपैयाँ नभई र एक अर्ब ४० करोड १० लाख ८६ हजार ७७ रुपैयाँ भएको धारणासहितको पत्र नेपाल ट्रस्टको कार्यालयमा दर्ता गराएको थियो।

थामसेर्कुले पेस गरेको निवेदनउपर छानबिन हुँदा प्राविधिक त्रुटिका कारण स्वीकृत भएको उक्त मूल्य सहसचिवस्तरीय पुनःनिर्णयबाट थामसेर्कु प्रालिको पछिल्लो प्रस्ताव स्वीकृत गरी सम्झौता गरेको श्वेत–पत्रमा भनिएको छ। ट्रस्टका तत्कालीन कार्यकारी सचिव अर्जुन कार्कीले स्वीकृत गरेको प्रस्ताव थामसेर्कुको स्वार्थबमोजिम सच्याएर सचिवबाट प्रत्यायोजन गरिएको अधिकारी प्रयोग गरी ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीले सम्झौता गरेका थिए। दरबारमार्गको जग्गा भाडामा दिँदा ट्रस्ट र थामसेर्कुबीच २०७४ जेठ १४ मा सम्झौता भएको थियो। ट्रस्टले जारी गरेको श्वेत–पत्रमा प्रस्ताव स्वीकृत गरेको मिति २०७४ वैशाख ५ उल्लेख भए पनि सम्झौता भएको मिति भने उल्लेख छैन।

ताहाचलको जग्गा भाडामा लगाउने विषयमा प्रस्ताव माग गर्दा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री शक्तिबहादुर बस्नेत तथा कार्यकारी सचिव अर्जुन कार्की रहेको भए पनि श्वेत–पत्रमा त्यो खुलाइएको छैन। 

श्वेत–पत्रमा ताहचलको जग्गा भाडामा लगाउँदा थामसेर्कु र क्लिन इन्फ्रास्ट्रचर प्रालिले प्रस्ताव हालेको उल्लेख छ। थामसेर्कुले हालेको २७ करोड ७४ लाख ७५ हजार ६ सय ६८ रुपैयाँ र क्लिनले २१ करोड ७३ लाख ३० हजार ६ सय ६८ रुपैयाँको २०७४ कात्तिक १३ गते स्वीकृत गरिएको भनिएको छ। थामसेर्कुसँग सम्झौता गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री जनार्दन शर्मा रहेका थिए। २०७३ असार २५ गते ताहाचलको जग्गा भाडामा लगाउने विषयमा प्रस्ताव माग गर्दा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री शक्तिबहादुर बस्नेत तथा कार्यकारी सचिव अर्जुन कार्की रहेको भए पनि श्वेत–पत्रमा त्यो खुलाइएको छैन।

लिज अबधि करिब ६ वर्ष बाँकी छँदै गोकर्ण फरेस्ट रिसोर्टको जग्गा यती होल्डिङ्ससँग लिज अवधि नवीकरण गरिएको विषयमा ट्रस्टलाई एक अर्बभन्दा बढी आम्दानी हुने भन्दै श्वेत–पत्रमा बचाउ गरिएको छ। गोकर्णको दुई हजार सात सय ९२ रोपनी जग्गाको यतीसँग लिज अवधि नवीकरण गराउँदा मन्त्रिपरिषद्बाट निर्णय गराइएको र प्रस्ताव हाल्ने र मूल्यांकन गर्नेलगायत अन्य प्रक्रिया पूरा गरेर लिज अवधि थप २५ वर्षका लागि नवीकरण गरिएको श्वेत–पत्रमा दाबी गरिएको छ।

दरबारमार्ग ताहचलको जग्गा भाडामा लगाउँदा उक्त समयमा भएका प्रधानमन्त्री र गृहमन्त्रीको नाम उल्लेख गरिए पनि गोकर्णको जग्गामा लिज नवीकरण गर्दा रहेको प्रधानमन्त्री र कानुन संशोधन भएपछि ट्रस्टको अध्यक्ष रहेका मन्त्रीको नाम राखिएको छैन।

मोहीको नाममा गएको जग्गा फिर्ता ल्याइने
नेपाल ट्रस्टले मन्त्रिपरिषद्को निर्णयबाट मोहीको नाममा नामसारी भएको करिब एक सय ७३ रोपनी जग्गा फिर्ता ल्याउने प्रक्रिया अघि बढेको बताएको छ। ट्रस्ट सञ्चालक समिति अध्यक्ष ईश्वर पोखरेलले तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा २०६९ कात्तिक २ गते बसेको मन्त्रिपरिषद्को विधेयक समितिले निर्णयअनुसार नेपाल ट्रस्टको स्वामित्वमा रहेको एक सय ७२ रोपनी १५ आना जग्गा फिर्ता ल्याउने प्रक्रियामा रहेको बताए। प्रधानमन्त्री बाबुराम भट्टराई र गृहमन्त्री विजयकुमार गच्छदार रहेको बेला काठमाडौंको मातातीर्थ, थानकोट महादेवस्थान, सतुंगल र बालाजुमा ट्रस्टको नाममा रहेको उक्त जग्गा मोहीको नाममा दर्ता गराइएको श्वेत–पत्रमा उल्लेख छ।

ट्रस्टका अध्यक्ष पोखरेलका अनुसार ट्रस्टको जग्गा मोहीको नाममा नामसारी गर्नेगरी भएको निर्णयको विषयमा मोहनरमण भट्टराईको अध्यक्षतामा गठित सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगमा उजुरी हालिएको बताए। आयोगले बाबुराम भट्टराईको पालामा ट्रस्टको स्वामित्वमा आएको जग्गाको विषयमा छानबिन थालेको छ। करिब दुई महिनाअघिदेखि आयोगले उक्त जग्गा मोहीको नाममा पु¥याइएको विषयमा छानबिन गरिरहेको छ। नागरिक दैनिकबाट

लिजमा दिइको सम्पत्ति विवरण
१. गोकर्ण फरेस्ट रिसोर्ट
सन् १९५५ देखि २०५० सम्म (राजा वीरेन्द्रको पालामा)
पाउने संस्था: यती समूह
लिज अवधि थप: २०७६ मंसिर २३
प्रधानमन्त्री: केपी शर्मा ओली
ट्रस्ट अध्यक्ष: उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल

२. दरबारमार्ग जग्गा
प्रस्ताव माग:२०७३ असार १४
प्रधानमन्त्री: केपी ओली
गृहमन्त्री: शक्ति बहादुर बस्नेत
ट्रस्ट र थामसेर्कुबीच २०७४ जेठ १४
प्रधानमन्त्री: पुष्पकमाल दाहाल,
गृहमन्त्री: विमलेन्द्र निधी

३. ताहाचल
प्रस्ताव माग २०७३ असार २५
प्रधानमन्त्री: केपी ओली
गृहमन्त्री: शक्तिबहादुर बस्नेत
ट्रस्ट र थामसेर्कुबीच सम्झौता २०७४ माघ १०
प्रधानमन्त्री: शेरबहादर देउवा

४. काठमाडौं प्लाजा भवन कमलादी
लिज अवधि: २०५० असार ३ देखि २०७७ असार २ सम्म

संस्था: कन्सेप्ट डेभलप्मेन्ट प्रालि

५. बैंक भवन लाजिम्पाट
संस्था: स्टान्डर्ट चाटर्ड बैंक
लिज अवधि: २००५ देखि १५ वर्ष

६. बिजनेस पार्क टेकु
पाउने संस्था:टाउन डेभलपर्स प्रालि
लिज अवधि: २०५३ देखि २०८३ सम्म

प्रकाशित मिति: १४ फाल्गुन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्