दिल्लीमा हिंसा झन चर्किदै, मृत्यु हुनेको संख्या १३ पुग्यो


 



नयाँदिल्ली
भारतको राजधानी दिल्लीको उत्तर पूर्वी इलाकामा पछिल्लो केही दिनदेखि हिंसा चर्किरहेको छ । जारी हिंसामा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

प्रेस ट्रस्ट इन्डियाले अस्पताल स्रोतलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो । यस्तै, उत्तर पूर्वी दिल्लीको जाफराबादमा नागरिकता संशोधन कानूनविरुद्ध प्रदर्शन गरिरहेका प्रदर्शनकारीलाई हटाइएको छ ।

मेट्रो स्टेशन नजिकै प्रदर्शन गरिरहेका मध्ये धेरैजसो महिला थिए । जाफराबादमा महिलाले केही दिनदेखि सीएएविरुद्ध विरोध प्रदर्शन गरिरहेका थिए । तर शनिबार राती प्रदर्शनकारीमध्ये केहीले जाफराबाद रोड अवरुद्ध गरिदिए ।

आइतबार धर्ना स्थलबाट केही पर सीएएको समर्थनमा भारी मात्रामा भीड जम्मा हुन थाल्यो जसका कारण स्थिती तनावग्रस्त भयो  । सोमबार त हिंसा नै सुरु भयो ।

दिल्ली पुलिसका डीसीपी मनदीप सिंह रंधावाले पत्रकार सम्मेलन गर्दै हिंसा र त्यससँग जोडिएको कारवाहीबारे जानकारी दिए । रंधमवाका अनुसार सोमबारदेखि सुरु भएको हिंसामा अहिलेसम्म १० जनाको ज्यान गइसकेको छ । यीमध्ये ९ जना सर्वसाधारण छ एकजना हेड कन्स्टेबल रतन लाल हुन् ।

डीसीपी रंधावाले भने, ‘दिल्ली पुलिसका ५६ जवान घाइते भएका छन् । उत्तरी–पूर्वी दिल्लीमा पर्याप्त मात्रामा जवान तैनाथ गरिएका छन् । हामीसाग अर्धसैनिक बलमा सीआरपीएफ र एसएसबी छन् । यीबाहेक ग्राउन्डमा पेट्रोलिङका अन्य थुप्रै तरिकाले निगरानी गरिँदैछ । पुलिसले धारा १४४ लगाएको छ । १४४ लागु हुँदा हुँदै पनि आज केही इलाकामा हिंसा भएको छ । म दिल्ली निवासीलाई अपिल गर्छु कि कानूनलाई आफ्नो हातमा नलिनुहोस् । असामाजिक तत्वविरुद्ध कडा कारवाही गएिको छ । ड्रोन्सको मद्दत लिइरहेको छु । हामी सिसिटीभी रेकर्डिङको पनि अनुसन्धान गरिरहेका छौं ।’

प्रकाशित मिति: १४ फाल्गुन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्