वामदेव फेरि अलपत्रः अधुरै रहे यी ६ सपना, गोप्य निर्णय पनि बाहिरियो
काठमाडौं, फागुन १४
उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्ने तथा उनी प्रधानमन्त्री बन्ने बाटो खोल्न संविधान संशोधनसमेत गर्ने गृहकार्य विवादमा परेपछि सत्तारुढ नेकपा रक्षात्मक बनेको छ । थप छलफल गर्न बुधबार सचिवालय बैठक बोलाइएको छ ।
संविधान संशोधन गर्ने निर्णयले जनमत नै पार्टीको विपक्षमा जान सक्ने बुझाइ नेताहरूमा छ । त्यसैले अघिल्लो निर्णयबाट पार्टी ‘ब्याक’ हुने सम्भावना छ । उपाध्यक्ष गौतमले संविधान संशोधन नगरी राष्ट्रिय सभामा जान तयार भए उनलाई लैजाने विषयमा भने नेताहरू सकारात्मक छन् ।
‘हामीले ब्याक फायर होस् भन्ने नियतले उहाँ (गौतम)को विषयमा निर्णय गरेका थिएनौँ, तर जनमत विपक्षमा देखियो । यो स्थिति विश्लेषण गरी पार्टीले निर्णय फेरबदल गर्न सक्छ, त्यसबारे बैठकमै औपचारिक छलफल हुनेछ,’ सचिवालयका एक नेताले नयाँ पत्रिकासँग भने, ‘तर, संविधान संशोधनविनै उहाँले राष्ट्रिय सभामा जान चाहनुभयो भने पार्टीले पठाउने निर्णयलाई निरन्तरता दिन सक्छ । यो उहाँको प्रस्ताव र रुचिमा पनि भर पर्ने कुरा भो ।’
कार्यदल बनाउने निर्णयसँगै नेता गौतम पनि विवादमा परेका छन् । प्रत्यक्ष निर्वाचनमा पराजित भएपछि पटक–पटक झ्यालबाट संसद् प्रवेश गर्ने प्रयास गरेर पदलोलुपता देखाएको आरोप उनीमाथि लाग्दै आएको छ । विपक्षीहरूले मात्रै होइन, पार्टीकै शीर्ष नेताहरूले समेत सार्वजनिक रूपमा आलोचना गर्न थालेका छन् ।
यस्तो अवस्थामा उनीसँग कि राष्ट्रिय सभामा मात्रै भए पनि जाने अथवा पूरै प्रक्रियाबाट ‘ब्याक’ दुई विकल्प मात्रै बाँकी छन् । हक्की र अस्थिर स्वभावका गौतम जुनसुकै परिस्थितिमा पनि अघि बढ्न सक्ने र पछि पनि हट्न सक्ने भएकाले सचिवालयले उनकै प्रस्तावअनुसार निर्णय गर्नसक्ने नेताहरू बताउँछन् ।
कार्यदल गठनको निर्णय गोप्य राख्ने सचिवालयको सहमतिविपरीत एकथरी नेताले आफूलाई रोक्न षड्यन्त्रमूलक ढंगले सूचना बाहिर ल्याएको गौतमको बुझाइ छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल र उनीनिकट नेताहरूले नियोजित रूपमै गोप्य निर्णय सार्वजनिक गरेको आशंका गर्दै गौतमले त्यसबारे सचिवालय बैठकमा कारबाहीकै मागसहित आफ्ना धारणा राख्ने तयारी गरिरहेको उनीनिकट स्रोत बताउँछ ।
वरिष्ठ नेता झलनाथ खनालले बुधबार सचिवालय बैठक बोलाइएको र त्यहीँ छलफल हुने बताए । ‘बैठकमै औपचारिक छलफल हुनेछ,’ उनले संक्षिप्त प्रतिक्रिया दिए ।संसदीय दलका उपनेता सुवास नेम्वाङले भने पार्टीले संंविधान संशोधन गर्नै खोजेको भए पहिले त्यसको औचित्य पुष्टि गर्नुपर्ने बताए ।
‘पार्टी यदि संविधान संशोधनतर्फ अघि बढ्न खोजेको हो भने अहिलेसम्म भनेजस्तै आवश्यकता र औचित्यका आधारमा अगाडि बढ्नुपर्छ र त्यससँग सम्बन्धित सबै पक्षसँग छलफल गर्दै सही निष्कर्षमा पुग्नका लागि आधार तयार गर्नुपर्छ । त्यसका निम्ति पारदर्शी प्रक्रिया अपनाउनुपर्छ,’ नेम्वाङले सचिवालय र नेता गौतमलाई सुझाब दिँदै भने, ‘प्रधानमन्त्री बन्न उहाँका लागि दुई बाटा छन्, तर अहिले बजारमा चर्चा आएको बाटो गलत छ । त्यसैले सुल्टो बाटो अपनाउने हो भने निरन्तर पार्टीको सेवा गर्ने, तीन वर्ष क्रियाशील भएर चुनावबाट प्रतिनिधिसभामा प्रवेश गर्ने ।’
शनिबार बसेको सचिवालय बैठकमा नेता गौतमलाई मन्त्रिपरिष्दको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने कोटाबाट राष्ट्रिय सभामा लैजाने सहमति भएको थियो । बैठकले गौतमको प्रधानमन्त्री बन्ने बाटो पनि खोल्न संविधान संशोधनको गृहकार्यका लागि वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा स्थायी समिति सदस्य नेम्वाङ र केन्द्रीय सदस्य खिमलाल देवकोटा सदस्य रहेको कार्यदल पनि बनाएको थियो ।
तर, यो विषय गोप्य राख्ने सहमति भएको थियो । सोमबार नेता नेपालले कार्यदलको बैठक बस्न नेम्वाङ र देवकोटालाई घरमै बोलाएका थिए । तर, नेम्वाङले सदस्य बस्न अस्वीकार गरेपछि कार्यदल नै अलपत्र परेको छ ।
कार्यदल बनाउने विषयमा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीको पनि सहमति थियो । कार्यदललाई प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्यहरूको भूमिका र अधिकार बराबर हुने व्यवस्था गर्न आवश्यक संशोधनका विषयबारे गृहकार्य गर्न टास्क दिइएको थियो ।
तर, सोमबार कार्यदल गठनबारे समाचार बाहिरिएपछि पार्टीभित्रैबाट चर्को विरोध सुरु हुँदै जाँदा गौतमविरोधी जनमत निर्माण भएको छ । नेकपाकै शीर्ष नेताहरूले समेत सार्वजनिक रूपमा विरोध जनाउन थालेका छन् ।
सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले सोमबार मध्यराति ट्विट गर्दै छलढाँटको राजनीति धेरै दिन नचल्ने बताएका छन् । ‘अभ्यास, अनुभव र औचित्यका आधारमा मात्र संविधान संशोधन हुन सक्ने कुरा गर्दै आएका भित्रैबाट यतिवेला एकाएक संविधान संशोधनको कुरा सुनिँदै छ ।
मानिसहरू उदेक मान्दै छन् ! केका लागि संशोधन ! खराखरी बहस गर्ने वेला आएजस्तो छ । कुरा लुकाएर, ढाँटछल गरेर कति दिन चल्छ ? कसरी चल्छ ? राजनीति गरिन्छ, जुवा खेलिन्न,’ पोखरेलको ट्विटमा उल्लेछ ।
त्यस्तै, स्थायी समिति सदस्य तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मंगलबार राति ट्विटमार्फत विरोध जनाएका छन् । ‘कमरेडहरू, गत निर्वाचनमा हामीमाथि जनविश्वासको आधार थियो– स्थिरता र समृद्धिको अपिल ।
तर, कहिले आलोपालो प्रधानमन्त्री त कहिले शासन प्रणाली परिवर्तन, अनि राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुने व्यवस्था गर्न संविधान संशोधनको बेमौसमी बहस । के नेकपा राजनीतिक स्थिरता दिन अक्षम छ भन्ने सन्देश दिन खोजिएको हो ?’ उनले लेखेका छन् ।
राजनीति गरिन्छ, जुवा खेलिन्न : ईश्वर पोखरेल, उपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य
अभ्यास, अनुभव र औचित्यका आधारमा मात्र संविधान संशोधन हुन सक्ने कुरा गर्दै आएकाभित्रैबाट यतिवेला एकाएक संविधान संशोधनको कुरा सुनिँदै छ । मानिसहरू उदेक मान्दै छन् ! केका लागि संशोधन ! खराखरी बहस गर्ने वेला आएजस्तो छ । कुरा लुकाएर–ढाँटछल गरेर कति दिन चल्छ ? कसरी चल्छ ? राजनीति गरिन्छ, जुवा खेलिन्न !
संशोधनको बेमौसमी बहस : प्रदीप ज्ञवाली
परराष्ट्रमन्त्री तथा नेकपा स्थायी समिति सदस्य
कमरेडहरू, गत निर्वाचनमा हामीमाथि जनविश्वासको आधार थियो– स्थिरता र समृद्धिको अपिल । तर, कहिले आलोपालो प्रम त कहिले शासन प्रणाली परिवर्तन, अनि राष्ट्रिय सभा सदस्य पनि प्रम हुने व्यवस्था गर्न संविधान संशोधनको बेमौसमी बहस । के नेकपा राजनीतिक स्थिरता दिन अक्षम छ भन्ने सन्देश दिन खोजिएको हो ?
वामदेवको अधुरो धोको
१. डोल्पाबाट उम्मेदवार बन्ने पहिलो कोसिस
मंसिर ०७४ मा बर्दियाबाट हारेपछि गौतमले साउन ०७५ मा डोल्पाका सांसद धनबहादुर बुढालाई राजीनामा गर्न फकाएका थिए । बुढा गौतमकै सिफारिसमा पर्यटन राज्यमन्त्री भएका थिए । मतदातालाई फकाएर आउँछु भनेर डोल्पा गएका बुढा फर्कँदा भने राजीनामा गर्न जनताले नमानेको सन्देश लिएर आएका थिए । बुढाले सिट खाली गर्न नमानेपछि गौतमलाई पहिलो झट्का लाग्यो ।
२. विकल्पमा दैलेख, बाँके र प्युठानमा मिहिनेत
दैलेखका रवीन्द्रराज शर्मा, बाँकेका नन्दलाल रोकाय र प्युठानकी दुर्गा पौडेललाई राजीनामा गराउन पनि गौतमका सहयोगीले मिहिनेत गरे । तर, यो बाटो पनि अघि बढ्न सकेन ।
३. काठमाडौं ७ का रामवीरको राजीनामा
वामदेव गौतमलाई उम्मेदवार बनाउन रामवीर मानन्धरले पार्टी अध्यक्ष ओलीलाई राजीनामा दिए । तर, जनमानसले चर्को विरोध गरेपछि गौतम आफै ब्याक भए । गौतमलाई अधुरो गुण लगाएबापत मानन्धर अहिले सहरी विकास राज्यमन्त्री छन् ।
४. विकास प्राधिकरणको नेतृत्वमा दाबी
प्रतिनिधिसभामा उम्मेदवार हुने बाटो बन्द भएपछि गौतमले राष्ट्रिय विकास प्राधिकरणको अवधारणा ल्याएका थिए । राष्ट्रिय गौरवका आयोजनाको कमान्ड गर्ने गरी आफूलाई प्राधिकरणको नेतृत्व दिन उनले प्रधानमन्त्री ओलीसँग प्रस्ताव गरेका थिए । तर, अस्वीकार गरेपछि उनी ओलीसँग चिढिएका थिए ।
५. पोखराबाट उम्मेदवार बन्न ओलीको प्रस्ताव
रिसाएका वामदेवलाई नजिक्याउन प्रधानमन्त्री ओलीले कास्की २ मा उम्मेदवार बनाउन खोजेका थिए । रवीन्द्र अधिकारीको निधनपछि खाली भएको क्षेत्रमा छिटो निर्वाचन गराउन ओलीले तत्कालीन प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसँग छलफल गरेका थिए । तर, शुभचिन्तकहरूले चुनाव हारिन्छ भनेपछि गौतम पछि हटे ।
६. राष्ट्रिय सभा जाने प्रयास पनि अलमलमा
गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्न पार्टी पहिलेदेखि तयार थियो । तर, गौतमले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने संवैधानिक व्यवस्था गर्न अडान राखेका थिए । शीर्ष नेताहरू संविधान संशोधन गर्न तयार भए पनि प्रतिपक्षी दल र जनमानस मात्र होइन, नेकपाकै नेताहरू पनि विरोधमा उत्रिएपछि वामदेवको धोको फेरि भुमरीमा परेको छ । नयाँ पत्रिका दैनिक
प्रकाशित मिति: १४ फाल्गुन २०७६, बुधबार