ट्रम्प भारत भ्रमणमा रहेकै बेला दिल्लीमा हिंसात्मक प्रदर्शन, पाँचको मृत्यु


 



नयाँदिल्ली
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणम रहेकै बेला राजधानको दिल्लीमा हिंसात्मक प्रदर्शन भएको छ ।
हिंसात्मक प्रदर्शनका क्रममा भएको भिडन्तमा कम्तीमा पाँच जनाको ज्यान गएको छ । उग्र हिंसात्मक रुप लिँदा एक जना प्रहरी हवल्दारसहित पाँच जनाको मृत्यु भएको हो ।

संशोधित नागरिकता ऐनको विरोध र पक्षमा दिल्लीको मौजपुर र आसपासका क्षेत्रमा विगत दुई दिन देखि प्रदर्शन भैरहेको छ ।

मौजपुर क्षेत्रमा नागरिकता ऐनको विरोध र समर्थनमा विगत दुई दिनदेखि प्रदर्शन जारी थियो । सोमबार भने बिहानैदेखि दुवै पक्षबीच ढुंगा हानाहान भएको थियो । प्रदर्शन उग्र बन्दै गएपछि दिल्ली मेट्रोका आधा दर्जन स्टेशनहरु बन्द गरिएका थिए । प्रदर्शनमा क्रममा हिसांत्मक भीडले मौजपुर, कर्दामपुरी, चाँदबाग र दयालपुर क्षेत्रमा सार्वजनिक सवारीसाधन, घर र पसलहरुमा आगजानी गरेको थियो ।

त्यस्ता आगजानी र तोडफोडका घटनाका भिडियो र तस्बिरहरु दिनभर नै विभिन्न सञ्चारमाध्यम र समाजिक सञ्जालमार्फत् सार्वजनिक भइरहेका थिए । प्रदर्शनकारीहरुले दिल्लीको गोकुलपुरीस्थित पुरानो टायर बजारमा आगजनी गरेका थिए । उग्र भीडले पेट्रोल बम समेत प्रहार गरेका थियो । प्रदर्शनका कारण उक्त क्षेत्रमा रणभूमिका परिणत भएको थियो ।

सोमबारको हिंसात्मक प्रर्दशनमा ११ जना प्रहरी र ५० भन्दा बढी सर्वसाधारण घाइते भएको बताइएको छ । घाइते प्रहरीमध्ये एक जना डीसीपीसमेत रहेका छन् । प्रदर्शनकै क्रममा ढुंगा लागेर घाइते प्रहरी हवल्दार रतनलालको उपचारको क्रममा मृत्यु भयो भने प्रहरीको गोली र प्रदर्शनकारीको आक्रमणमा अन्य चार जना सर्वसाधारणको ज्यान गएको छ ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दिनभरी जसो अश्रुग्याँस र लाठी प्रहार गरेको थियो । तर, अबेर रातिसम्म पनि स्थिति नियन्त्रणमा नआएपछि अर्धसैनिक बललाई परिचालित गरिएको थियो ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले घटनाप्रति दुःख व्यक्ति गर्दै गृह मन्त्रालयलाई स्थिति नियन्त्रण लिनका लागि पर्याप्त मात्रामा प्रहरीलाई खटाउन आग्रह गरेका छन् ।

परिस्थितिलाई ध्यानमा राख्दै दिल्ली सरकारले उत्तरपूर्व जिल्लाका सम्पूर्ण शैक्षिक संस्थाहरुलाई मंगलबार बन्द गर्न निर्देशन दिएको छ । यसैगरी दिल्ली प्रहरीले त्यसक्षेत्रमा धारा १४४ समेत लागू गरेको छ ।

केही नेताहरुले प्रधानमन्त्री नरेन्द्र मोदी र गृह मन्त्री अमित शाहले राजधानीमै हिंसा हुँदा समेत मौनता साँधेको भन्दै उनीहरुको आलोचना गरेका छन् ।

अमेरिकी राष्ट्रपति भारत भ्रमणका क्रममा दिल्लीमा रहेका बेला भएको हिंसात्मक प्रदर्शनप्रति राजनीतिक दलका नेताहरुले खेद प्रकट गरेका छन् ।  सोमबार गुजरातको अहमदाबाद ओर्लेर दिल्ली आइपुगेका ट्रम्प मंगलबार साँझ स्वदेश फिर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: १३ फाल्गुन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्