वामदेव गौतमका लागि संविधान संशोधन तयारी


 


काठमाडौं, फागुन १२
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले गत असार २६ गते वामदेव गौतमको जन्मदिन पारेर उनलाई पार्टी उपाध्यक्ष पद ‘अफर’ गरेका थिए । आठ महिनापछि ओली शनिबार आफ्नो जन्मदिन मनाउने तयारी गरिरहँदा उनै गौतमलाई राष्ट्रिय सभामा लगेर प्रधानमन्त्रीसमेत बनाउन मिल्ने संविधान संशोधन प्रस्तावको साक्षी बने । संयोग नै भनौं, जसरी गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव नेकपाको विधानविपरीत थियो, उसैगरी उनलाई राष्ट्रिय सभा सदस्य मनोनयन गरेर प्रधानमन्त्री बनाउने कुरा संविधानविपरीत हो ।

असार अन्तिम सातातिर आफूविरुद्ध खडा भएको अर्को गुटलाई तितरबितर पार्न गौतमलाई उपाध्यक्ष ‘अफर’ गरेका ओलीका लागि शनिबार साँझको प्रस्ताव भने ‘अनपेक्षित’ थियो । ‘अर्का अध्यक्ष पुष्पकमल दाहालले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्ने र राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधन गर्ने प्रस्ताव ल्याउनुभयो,’ बैठकबारे सचिवालयका एक सदस्यले कान्तिपुरसँग भने, ‘त्यो प्रस्तावमा प्रधानमन्त्रीज्यू असहमत हुनुहुन्थ्यो तर पनि उहाँ मौन बस्नुभयो ।’

बैठकमा उपाध्यक्ष गौतमले आफूलाई राष्ट्रिय सभा सदस्य बनाउने कुरा कहाँ पुग्यो भनेर सोधेपछि दाहालले उक्त प्रस्ताव गरेका थिए । दाहाल र गौतमको सहमतिबमोजिम नै उक्त प्रस्ताव सचिवालय बैठकमा पुगेको स्रोतको भनाइ छ । ‘भैंसेपाटी भेलामा भएका सहमतिअनुसार पूर्वमाओवादीलाई सभामुख बनाउनुपर्ने विषयमा सहमत भइयो, एमसीसीको छलफल त्यहीअनुसार अघि बढेको छ,’ गौतमको भनाइ उद्धृत गर्दै उनीनिकट स्रोतले शनिबार साँझ भनेको थियो, ‘राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्न बनेको सहमतिबारे खास छलफल नभएकाले विषय उप्काएको हुँ, निर्णय भएको छैन ।’

गौतम निवास भैंसेपाटीमा गत पुस २३ गते अध्यक्ष दाहालसहितका नेताहरूको भेला भएको थियो । स्रोतका अनुसार भेलामा राष्ट्रिय सभा सदस्य र प्रतिनिधिसभा सदस्यको समान हैसियत हुने गरी संविधान संशोधनको पहल गर्ने सहमति बनेको थियो । त्यही सहमतिलाई इमानदारीका साथ पालना गरेको देखाउन दाहालले उक्त प्रस्ताव ल्याएको ओली पक्षधरको बुझाइ छ । दाहालले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी अध्ययन गर्न कार्यदल बनाउने प्रस्तावका साथमा राष्ट्रिय सभा सदस्यको संख्या बढाउनुपर्ने अर्को प्रस्ताव पनि ल्याएका छन् ।

यसअघि राष्ट्रिय सभा सदस्यको संख्या बढाउनुपर्ने प्रस्ताव मधेस केन्द्रित राजनीतिक दल राजपाले गर्दै आएको थियो । अहिले राष्ट्रिय सभामा ५९ सदस्य छन् । फागुन २१ मा पदावधि सकिन लागेका राष्ट्रिय सभा सदस्य एवं अर्थमन्त्री युवराज खतिवडालाई निरन्तरता दिने ओलीको चाहना सम्बोधन गर्न उक्त प्रस्ताव ल्याइएको हुन सक्ने सचिवालयका एक सदस्यले बताए । गौतमले कुरा उठाएपछि दाहालले कार्यदल बनाउने र त्यसको संयोजक माधव नेपाल तथा सदस्यहरू संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र केन्द्रीय सदस्य खिमलाल देवकोटालाई बनाउने प्रस्ताव गरेका थिए । नेम्वाङ र देवकोटा दुवै कानुनी पृष्ठभूमिका हुन् ।

सचिवालय बैठक सकिएपछि प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई छलफलबारे जानकारी गराउन राष्ट्रपति कार्यालय गएका थिए । नेम्वाङले भने सचिवालयको उक्त निर्णयबारे आफूलाई थाहा नभएको बताए । ‘मलाई सोधिएको छैन, यस्तो बनाइयो र तपाईंलाई राखियो भनेर कसैले भनेको पनि छैन,’ उनले भने । स्रोतका अनुसार आइतबार बिहानै प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना दिन बालुवाटार पुगेका नेम्वाङले आफूलाई नसोधी उक्त कार्यदलमा किन राखेको भन्दै ओलीसँग असन्तुष्टि जनाएका थिए । देवकोटालाई भने अध्यक्ष दाहालले कार्यदलको सदस्य बनेको जानकारी गराएका छन् ।

संविधानको व्यवस्थाअनुसार राष्ट्रिय सभा सदस्य दुई तरिकाले बन्न सकिन्छ । पहिलो प्रदेश सांसद र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतबाट निर्वाचित भएर । दोस्रो, राष्ट्रपतिबाट मनोनयन भएर । गौतमको चाहना राष्ट्रपतिबाट मनोनयन भएर राष्ट्रिय सभामा जाने हो । त्यससँगै जोडिएको पूरक चाहना प्रधानमन्त्री बन्ने बाटो तय गर्नु पनि हो । गौतमको त्यही चाहनामा नेकपाका अध्यक्ष दाहालले संविधान संशोधनका लागि अध्ययन गर्न कार्यदल बनाउने प्रस्ताव गरेका हुन् ।

गत पुस १८ गतेको नेकपा सचिवालय बैठकमा अध्यक्षद्वयले गौतमलाई माघ ९ गतेको राष्ट्रिय सभा चुनावमा उम्मेदवार बन्न प्रस्ताव गरेका थिए । त्यतिखेर उनले राष्ट्रिय सभा र प्रतिनिधिसभासम्बन्धी संवैधानिक दृष्टिकोण एउटै भयो भने मात्रै आफू राष्ट्रिय सभा सदस्य हुने बताएका थिए । ‘मलाई प्रधानमन्त्री बनाउन दुवै अध्यक्षले पटक–पटक दिएको बचन पूरा गर्ने उचित मौका यही हो,’ गौतमले भनेका थिए ।

ओलीले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधन गर्न नसकिने जवाफ दिएपछि उनले राष्ट्रिय सभा सदस्य नबन्ने जवाफ फर्काएका थिए । ओलीको जवाफबाट रुष्ट गौतमले त्यसपछि ओलीविरुद्धको गठबन्धन ब्युँत्याउने प्रयास गरेको देखिन्छ । शक्ति र सत्ताबाहिर बस्ने आफ्नो स्वभावै नभएको बताउने गौतमले बारम्बार आफूलाई दुवै अध्यक्षहरूले प्रधानमन्त्री बनाउने आश्वासन दिएको बताउँदै आएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

प्रकाशित मिति: १२ फाल्गुन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्