प्रधानमन्त्रीको जन्मदिनमा सार्वजनिक विदा


 


काठमाडौं, फागुन ११
प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनमा सार्वजनिक विदा दिइएको छ। उनले आफ्नो जन्मदिन तेह्रथुमको आठराईस्थित जन्मघरमा मनाउँदै छन् ।ओली जन्मदिन मनाउन तेह्रथुम जाने भएपछि आठराई गाउँपालिकाले सार्वजनिक विदा दिएको हो । प्रधानमन्त्री ओलीले आज ६९ औं जन्मदिन मनाउँदै छन् ।

प्रधानमन्त्री ओली जन्मदिन मनाउन आफ्नो क्षेत्रमा आउने भएपछि आठराई गाउँपालिकामा आइतबार स्थानीय सार्वजनिक बिदा दिएको हो । गाउँपालिकाले प्रधानमन्त्री ओलीले आफ्नो क्षेत्रमा विकास निर्माणका कामको शिलान्यास गर्ने भएकाले स्थानीय बिदा दिने निर्णय गरेको जनाएको छ ।

विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री र वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेकाले स्वास्थ्यचौकीबाहेक सबैलाई विदा दिएको आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बूले जानकारी दिए । ओलीले आजै आठराईको छातेढुङ्गाको सुकेपोखरी, आफ्नो जन्मघर हुँदै ताप्लेजुङ्गको ढुङ्गेसाँघुस्थित मदन भण्डारीको जन्मघरसम्म जोड्ने मोटरबाटोको शिलान्यास गर्ने कार्यक्रम छ ।

यस्तै जन्मघरमा हुने कार्यक्रममा उनले नेपाल बैंकको शाखा कार्यालय उद्घाटन गर्ने छन् । तेह्रथुममा जन्मिएका ओली पछि झापा बसाईसरेका हुन् ।

प्रकाशित मिति: ११ फाल्गुन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्