ट्रकले प्रहरी भ्यानलाई दियो ठक्कर, चार प्रहरी घाइते


 


रौतहट, फागुन ११
रौतहटमा ट्रकले प्रहरी भ्यानलाई ठक्कर दिएको छ। ठक्करबाट चार जना प्रहरी घाइते भएका छन् ।

गौरबाट पथलैयातर्फ गइरहेको ना१च १३३१ नम्बरको प्रहरी भ्यानलाई ना६ख ८६२५ नम्बरको ट्रकले आइतबार बिहान ठक्कर दिएको हो । चन्द्रनिगाहपुरबाट पश्चिमतर्फ जंगलमा मानसिक सन्तुलन बिग्रेकी एक महिलालाई बचाउने क्रममा ट्रकले सन्तुलन गुमाउँदा प्रहरी भ्यानसँग ठोक्किएको बताइएको हो ।

दुर्घटनामा गौर बसपार्कका इन्चार्ज प्रहरी नायव निरीक्षक मनोज सिंह र मठिहा प्रहरी चौकीका इन्चार्ज गौविन्द यादव गम्भीर घाइते भएका हुन् । उनीहरु दुवैलाई चन्द्रनिगाहपुरमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।

यस्तै प्रहरी नायव निरीक्षक हृदय यादव र प्रहरी जवान सरोज यादव सामान्य घाइते भएका छन् । उनीहरुले स्थानीय अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गौरका प्रवक्ता डिएसपी नविन कार्कीले जानकारी दिए ।

प्रकाशित मिति: ११ फाल्गुन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्