अलैँचीको मूल्यमा भारी गिरावट


 



विराटनगर , फागुन १०
कालो सुन भनेर चिनिएको अलैँचीको मूल्यमा भारी गिरावट भएको छ । भारतको बाटो हुँदै पाकिस्तान निर्यात नहुँदा अलैँचीको मूल्यमा भारी गिरावट आएको नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष सुमन श्रेष्ठले बताउनुभयो ।

भारतले  नेपाली अलैँची खरिद गर्न छाडेपछि नेपाली बजारमा किनबेच बन्द भएको हो । तेस्रो देशमा निर्यात नहुँदा एक मन ९१०० किग्रा० अलैँचीको मूल्य घटेर रू २६ हजार पुगेको छ । केही वर्षअघि एक मनको रू एक लाखको हाराहारीमा कारोवार हुने अलैँचीको मूल्यमा गिरावट आएपछि रू २६ हजारमा किनबेच भइरहेको उपाध्यक्ष श्रेष्ठले बताउनुभयो । उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, “दुईचार वर्षअघि एक मनको एक लाखमा कारोवार हुने अलैँचीको मूल्य २६ हजारमा आइपुग्यो ।” 

पछिल्लो समय भारत र पाकिस्तानको सम्बन्ध बिग्रिएपछि नेपाली अलैँची पाकिस्तान निर्यात ठप्प भएको छ । नेपालका अधिकांश अलैँची व्यवसायी भारतको बजारमा निर्भर हुनुपरेको उपाध्यक्ष श्रेष्ठको भनाइ छ । अलैँचीलाई बङ्गलादेशले आयुर्वेदिक रुपमा प्रयोग गरेको छ । अलैँचीको निकासी सीधै बङ्गलादेश नै गर्न सकेमा राम्रो मूल्य पाउन सकिने उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

अलैँची निर्यात कसरी गर्न सकिन्छ भनेर अध्ययन गर्न नेपाल अलैँची व्यवसायी महासङ्घका तर्फबाट उपाध्यक्ष श्रेष्ठ बङ्गलादेश, युनाइटेड अरब इमिरेट्स,  चीन र भारत पुगेको जानकारी दिनुभयो । मसलाका रुपमा प्रयोग हुँदै आएको अलैँची आयुर्वेदिक प्रयोगका लागि चीनले अध्ययन शुरु गरेकाले भविष्यमा बजार पाउने आशावादी बनाएको उहाँले बताउनुभयो । पाकिस्तानले भारतको बाटो हुँदै लगिएको प्रयोग नगरेपछि मूल्यमा गिरावट आएको हो । 


अलैँचीको राम्रो मूल्य पाउन नेपालले पाकिस्तानसँगको व्यापारलाई प्रभावकारी बनाउन जरुरी छ । चीनको बाटो हुँदै पाकिस्तानसँग अलैँची व्यापार बढाउन सरकारले पहल नगरिदिँदा अलैँची व्यवसायी निराश हुनुपरेको उपाध्यक्ष श्रेष्ठको गुनासो गर्नुभयो । सधँै भारतको बजारमा निर्भर रहेको अलैंँचीको निर्यात तेस्रो मुलुकको बजारसम्म पुग्न जरुरी छ । पछिल्लो समय सबैभन्दा धेरै बङ्गलादेशमा यसको प्रयोग हुने गरेको छ ।

प्रकाशित मिति: १० फाल्गुन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्